काठमाडौं, सिंहदरबारस्थित श्रम मन्त्रालयको गाडी ‘हराएको’ भन्दै गृह मन्त्रालयमा पत्राचार गरिएको प्रकरणमा नयाँ मोड आएको छ। हराएको भनिएको गाडी मन्त्री शरदसिंह भण्डारीकै आदेशमा प्रयोग भइरहेको पत्ता लागेको छ।
मन्त्रालयका सचिव कृष्णहरी पुस्करले गाडी हराएको भन्दै खोजीका लागि पत्राचार गरेका थिए। तर, गाडी चार महिनाअघि नै मन्त्री भण्डारीका स्वकीय सचिवले ‘मन्त्रीज्यूको आदेश’ भन्दै लगेका थिए।
पत्र लेखेपछि मात्र गाडी मन्त्रालयमा फर्काइएको हो। सो स्कर्पियो गाडी लोसपा अध्यक्ष महन्थ ठाकुर वा उनकी छोरी डा. मिनाक्षी ठाकुरले प्रयोग गर्दै आएको आरोप छ। यद्यपि, ठाकुर पक्षले गाडी प्रयोगको दाबी अस्वीकार गरेको छ। यस घटनापछि मन्त्री भण्डारी सचिवप्रति असन्तुष्ट बनेका छन् भने मन्त्रालयभित्रको प्रशासनिक समन्वयमा गम्भीर प्रश्न उठेको छ।