काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीघाटस्थित फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण गरेको छ ।
पीआईडीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोबीघाटमा फोहोरपानी प्रशोधन केन्द्रहरू निर्माण गरिरहेको छ । तीमध्ये धोबीघाटकोे एउटा फोहोरपानी प्रशोधन केन्दको निर्माण कार्य करिब सम्पन्न गरी प्रारम्भिक परीक्षण सुरू गरेको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. बिकेस बधानथाछले जानकारी दिए । उनका अनुसार गत वर्ष निर्माण सम्पन्नगरी प्रारम्भिक परीक्षण गर्ने तयारी गरे पनि गत असोजमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचनासहित इलेक्ट्रोमेकानिकल प्रणालीमा क्षति पुगेका कारण प्रारम्भिक परीक्षण अवरूद्ध भएको थियो ।
गत वर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनासहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवं मर्मत सम्भार कार्य सम्पन्न गरी प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोबीघाटस्थित एउटा केन्द्रको प्रारम्भिक परीक्षण सुरू गरिएको हो ।