दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले वडाबाटै राष्ट्रिय परिचय पत्र बनाउनका लागि फोटोसहितको विवरण संकलन कार्य गरिरहेको छ । सरकारले सामाजिक सुरक्षा भत्तामा अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गर्ने भएपछि पालिकाले अहिले वडाबाटै ज्येष्ठ नागरिकलाई सो सेवा दिइरहेको हो ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय चरिकोट पुग्न नसक्ने वृद्धवृद्धा ज्येष्ठ नागरिकहरूको सहजताका लागि जिल्ला प्रशासन कार्यालय चरिकोटसँग समन्वय गरेर यसअघि छुटेकाहरूको विवरण वडाबाटै संकलन गरिरहेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । उनका अनुसार प्रशासन कार्यालयबाट प्राविधिक कर्मचारी खटाएर अहिले फोटोसहितको विवरण संकलन कार्य भइरहेको छ । जसअनुसार बिहीबार वडा नम्बर–१ का २३ जना, शुक्रबार वडा–२ का ३१ जना, शनिबार वडा नम्बर–३ का ३० जना र आइतबार वडा नम्बर–४ का ३३ जना ज्येष्ठ नागरिकको फोटोसहितको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयकी विवरण संकलक रोजी बस्नेतले बताइन् । बस्नेतका अनुसार विवरण संकलन कार्य अझै केही दिन सञ्चालन हुनेछ ।
सोमबार वडा नम्बर–५, मंगलबार वडा नम्बर–६, बुधबार वडा नम्बर–७ र बिहीबार वडा नम्बर–८ मा राष्ट्रिय परिचय पत्रको लागि सम्बन्धित वडा कार्यालयबाटै विवरण संकलन गरिने उनले बताइन् । सीडीओ कार्यालय पुगेर घण्टौँ लाइन बसेर लिनुपर्ने सेवा वडाबाटै पाएपछि यहाँका जेष्ठ नागरिकहरू खुसी भएका छन् । ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि यो सेवा उपलब्ध गराइएको हो ।