काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद गर्ने संस्था नै फरक स्थापना गनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा रासायनिक मलका विषयमा भएको छलफलका उनले प्रत्येक वर्ष मलको समस्या दोहोरिने गरेकाले त्यस्तो अवस्था नल्याउनका लागि कानुनी सुधारसँगै छुट्टै संस्था स्थापना गर्नुपर्ने बताए । रासायनिक मल खरिद गरेर ल्याउन दुई सय ५० दिनभन्दा बढी लाग्ने भएकाले एक सय ५९ दिनमा झार्ने गरी निर्देशिका संशोधन गर्न लागिएको उनले जानकारी दिए । एउटा वडाको मल अर्को वडामा जान एक सय २० दिन लाग्ने गरेकाले छिटो जाने गरी व्यवस्था गर्न लागिएको पनि उनले बताए । तराईमा १० र पहाडमा १५ दिनमा एउटा वडाको मल अर्को वडामा जाने गरी व्यवस्था गरिने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।
समिति सभापति अब्दुल खानले साल्ट टे«डिङ कर्पोरेसनले मलको कोटाका सम्बन्धमा दिएको निवेदनका आधारमा बैठक डाकिएको जानकारी दिए । बैठकमा सांसदहरू गणेश पराजुली, सूर्यमान तामाङ, मङ्गलप्रसाद गुप्ता, रणेन्द्र बराइली, महेन्द्रबहादुर शाही, सीता मिजार, रमा कोइराला पौडेल, रेखा यादव, हेमराज राईलगायतले प्रत्येक वर्ष खेती लगाउने बेलामा मलको अभाव हुने गरेकाले समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए । कृषि मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले जेठ १५ गतेको बजेटकै आधारमा वर्षभरलाई मल आपूर्ति गर्न नसकिने बताए ।