चितवन । एक वर्षअघि सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार चार सय ४८ जनाले अवलोकन गरेका छन् । जसबाट ५३ लाख १६ हजार आठ सय ५० रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो । दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई एक सय रुपैयाँ तथा ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै, छिमेकी राष्ट्रहरू भारत र चीनका पर्यटकका लागि एक सय ५० रुपैयाँ, अन्य सार्क राष्ट्रका पर्यटकका लागि दुई सय रुपैयाँ र सार्कबाहेकका मुलुकका पर्यटकका लागि तीन सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । संकलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रस्ट र ४० प्रतिशत महानगरपालिकाले पाउने गरी सम्झौता गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दियालो बङ्गला सर्वसाधारणलाई खुला गर्दैगर्दा ट्रस्ट र महानगरपालिका मिलेर भौतिक पूर्वाधारका काम गरिएको बताइन् ।
महानगरपालिकाले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला सञ्चालनमा ल्याउन पहल गरेको थियो । प्रमुख दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ अध्ययन तथा घुम्न आउनेहरूको संख्या दिनानुदिन बढ्दै गएको बताइन् । तत्कालीन समयमा जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए । यो राजपरिवारले शिकार खेल्न आउँदा बस्ने ठाउँ पनि हो । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा तत्कालीन राजाहरू महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ भने बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । एक नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् ।
राजपरिवारले प्रयोग गरेका सामग्री अहिले जस्ताकोत्यस्तै राखिएको छ । दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ ।