काठमाडौँ । नेपाल वायुसेवा निगमले वाइडबडी इन्जिन मर्मतका लागि टेन्डर प्रक्रिया अन्तिम तयारीमा पुगेको जनाएको छ ।
निगमका अनुसार दुईवटा वाइडबडी विमानका चारवटै इन्जिन मर्मत आवश्यक हुने भएकाले यसका लागि २०८१ फागुन १० मा क्याम विभागका निर्देशक महेशकुमार मरिताको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । उपसमितिले मर्मतसँगै लिजमा इन्जिन ल्याउने विषयमा टेन्डर प्रक्रिया अगाडि बढाइरहेको निगमले जनाएको छ ।
निगमका अनुसार इन्जिन निर्माता कम्पनीसँग छलफल गर्न निगमको प्राविधिक टोली गत अप्रिलमा सिंगापुर गएको थियो । उक्त भ्रमण टोलीले अन्तर्राष्ट्रिय प्राविधिक परामर्श लिएका थिए । भ्रमण टोलीमा कानुनी सल्लाहकार, बजार व्यवस्थापन विभाग प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरू संलग्न थिए ।
ठूलो लगानीको मर्मत प्रक्रिया प्राविधिकरूपमा जटिल हुने भएकाले विस्तृत तयारीसहित टेन्डर प्रक्रिया अघि बढाउन लागिएको निगमले जनाएको छ ।