वासिङ्टन डी सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । अमेरिका भ्रमणमा रहेका नेतान्याहूले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई भेटेर आफूले नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको जानकारी दिएका हुन् ।
नेतान्याहूले ट्रम्पलाई नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाएका थिए । त्यसपछि यो पुरस्कारका लागि ट्रम्प योग्य पात्र भएको बताए । प्रधानमन्त्री नेतान्याहूले मध्यपूर्वमा शान्तिका लागि ट्रम्पको प्रयासलाई ध्यानमा राख्दै यो निर्णय लिएको बताए ।
इजरायलभन्दा पहिले पाकिस्तानले जुन २० मा नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेको थियो ।
ट्रम्पले यसअघि जुन २२ मा आफूलाई ४/५ पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका थिए । तर आफूलाई उनीहरुले सो पुरस्कार नदिने र उदारवादीहरुलाई मात्रै दिने बताएका थिए ।