पश्चिम नवलपरासी । सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा बुधबार बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
नारायणगढ बुटवल सडक विस्तार आयोजनाले पूर्णरुपमा राजमार्ग सुचारु गराउन मर्मतको काम गरिरहेको छ । भाँसिएको स्थानमा अहिले माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको बताए ।
सोही स्थानमा गत वर्षपनि सडक भाँसिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन । पानी पर्ने बित्तिकै नारायणगढ बुटवल सडक खण्डमा सडक भासिने, पहिरो खस्ने र सडक चिप्लो हुने समस्याले पटक पटक यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ ।