काठमाडौ । नेपालमा मनसुनजन्य बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले गलत सूचना रोक्न एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप–टु–डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ ।
प्राकृतिक प्रकोपहरूसम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यपरक सचेतनालाई प्रवद्र्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारीहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ । यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल विप्याड, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोग समेत समावेश गरिएको ट्र्याजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ ।