काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । सरकारले ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो । सो समितिको दुई सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् ।
बीमा ऐेन २०७९को दफा १२को उपदफा ३ अनुसार अध्यक्ष वा कुनै सदस्यको हकमा उपदफा २ बमोजिम छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्म त्यस्तो व्यक्ति स्वतः निलम्बनमा पर्नेछन् । सोही दफाको उपदफा १ खण्ड (ग) अनुसार खराब आचरण, कार्य क्षमताको अभाव भएको वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा निजलाई उपदफा (२) बमोजिम सरकारले पदमुक्त गर्न सक्नेछ ।
सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नुपरेमा उपदफा २ मा उच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीश अध्यक्ष र स्नातकोत्तर हासिल गरेको र बीमा वा आर्थिक क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएका व्यक्तिहरूमध्येबाट दुई जना सदस्य रहेको समिति गठन गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम छानबिन समिति गठन गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
ओझामाथि फर्जी कागजात पेस गरेर बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लाग्दै आएको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भने सर्वोच्च अदालतमा समेत रिट परेको छ ।