काठमाडौ । युएईको अबुधाबीस्थित नेपाली दूतावासले ‘श्रमिकसँग संवाद’ लाइभ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गैरआवासीय नेपाली संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्वमा कार्यक्रम हुन लागेको हो ।
आयोजित ‘सुरक्षित आप्रवासनसम्बन्धी सचेतना तथा श्रमिक संवाद कार्यक्रम’मा बोल्दै युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले दूतावासले सीमित स्रोत र जनशक्तिका बाबजुद दिनरात नभनी प्रवासी नेपालीहरूको सेवा, सहयोग र सुरक्षामा काम गरिरहेको बताए ।
राजदूत क्षेत्रीले दूतावासको आधिकारिक फेसबुक पेजबाट ‘श्रमिकसँग संवाद’ लाइभ कार्यक्रम निकट भविष्यमै सञ्चालन गर्ने र त्यसबाट अझ छिटो, छरितो र आफू रहे बसेको ठाउँबाट परेका समस्याहरू, असुविधाहरू, सूचना र जानकारीहरू प्राप्त गरी लाभान्वित हुने बताए ।
श्रम काउन्सिलर दिपेन्द्र पौडेलले युएईमा कार्यरत श्रमिकहरूले भोगिरहेका समस्या तथा समाधानका उपायहरूबारे जानकारी दिएका थिए । प्रथम सचिव तिल बहादुर सुनारले पासपोर्ट तथा कन्सुलर सेवासम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने श्रम सहचारी पंकज लाभ कर्णले सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको सहभागिता, निरन्तरता र लाभहरूबारे सहजीकरण गरेका थिए । कार्यक्रममा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार र सुरक्षासम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । साथै, वैदेशिक रोजगारीमा आउँदा अपनाउनु पर्ने सावधानी, नियम, कानुन र समस्याहरूको समाधान प्रक्रिया तथा श्रमिकहरूको भोगाइ र अनुभव आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा श्रमिकहरूका समस्याहरू सुन्ने, सरोकारवाला निकायबाट जवाफ र समाधानका उपायहरू प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा राजदूत तेज बहादुर क्षेत्रीलगायतका विभिन्न पदाधिकारीहरू, नेपाली महावाणिज्यदूतावास दुबईका महावाणिज्यदूत हरि प्रसाद ओडारीलगातयका पदाधिकारीहरू र विभिन्न सामाजिक संघसंस्था तथा विभिन्न कम्पनीहरूमा कार्यरत सुरक्षा गार्ड, निर्माण क्षेत्रलगायत अन्य क्षेत्रमा कार्यरत श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुबई पुलिसका लेफ्टिनेन्ट सुश्री मैथा मोहम्मद, मेजर अली, अपराध रोकथाम टोलीका सार्जेन्ट यार मोहम्मद कासिमको उपस्थिति रहेको थियो । अपराध रोकथाम टोलीका सार्जेन्ट कासिमले युएईमा श्रमिकहरूले रहँदा बस्दा अपनाउनुपर्ने कानुनी सावधानी, सुरक्षा, मर्यादित व्यवहार तथा तथा दुबई पुलिस एपको ‘पुलिस आई’ सुविधाबारे विस्तृत जानकारी दिँदै यसको प्रयोग गर्न श्रमिकहरूलाई आग्रह गरेका थिए । युएईमा विभिन्न पेशामा गरी करिब छ लाख नेपाली कार्यरत छन् ।