काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल ३० लाख एकाइ, प्रत्येक एक हजार रुपैयाँँको अंकित मूल्यमा, जम्मा तीन अर्बबराबरको यो निष्काशनमा एक अर्ब २० करोडभन्दा बढी एकाइका लागि आवेदन प्राप्त भएको थियो । २०८२ असार ३० देखि साउन १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।
कुल एकाइमध्ये १८ लाख एकाइ निजी प्लेसमेन्टमार्फत १२ लाख एकाइ सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार एकाइ म्युचुअल फन्डहरूका लागि सुरक्षित राखिएको थियो । १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा सात प्रतिशत वार्षिक आकर्षक व्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २०८२ ज्येष्ठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।