काठमाडौँ । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह तथा संगीतकार शिलाबहादुर मोक्तानलाई सम्मान गरिएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले शनिबार कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी शाह र मोक्तानलाई उक्त सम्मान प्रदान गरेको हो । प्रतिष्ठानकी संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको सम्मान प्रदान गरेका हुन् । उनीहरूलाई नगद राशिसहित दोसल्ला ओढाएर ताम्रपत्र अर्पण गरिएको थियो ।
यस्तै, समारोहमा प्रतिष्ठानले यो वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान–२०८१’बाट दिवंगत कलाकार घनश्याम गौतमलाई ताम्रपत्रसहित सम्मान गरेको छ । कलाकार गौतमकी धर्मपत्नी युगज्योति क्रियाशीलले सम्मान ग्रहण गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा आयोजना गरिने कार्यक्रममा सदैव आफ्नो सहकार्य रहने धारणा व्यक्त गरे । प्रतिष्ठानका प्रमुख सत्यराज आचार्यले अघिल्लो वर्ष बुबाको निधनको शोकमा यो समारोह आयोजना गर्न नसकिए पनि अब यो नरोकिने बताए ।