काठमाडौं । कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तिभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र संगठित संस्थाहरूको संख्या उल्लेख्यरूपले बढ्दै गएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र संगठित संस्थाहरू गरी करिब चार हजार दुई सय ९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध भएका छन् । कोषमा आबद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार तीन सय ९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिब १५ अर्ब रुपैयाँ योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको छ ।
योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आबद्ध हुनेक्रम जारी रहेको छ । साथै, बैंक तथा वित्तीय क्षेत्र तथा निजी क्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्धताका लागि कोषमा सम्पर्क गर्ने क्रम उल्लेख्य रूपले बढ्दै गएको छ ।
कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार, सामाजिक सुरक्षा सुविधाअन्तर्गत योगदानकर्ताहरूलाई दुर्घटना क्षतिपूर्ति दुई लाखसम्म, काजकिरिया अनुदान ४० हजार रुपैयाँ, प्रसूति सुविधाअन्तर्गत प्रतिप्रसूति सात हजार पाँच सय तथा स्वाथ्योपचारतर्फ साधारण रोगमा एक लाखसम्म र कडा रोगमा १० रुपैयाँसम्म सुविधा प्रदान गर्दै आएको छ ।
कोषले यही साउन १ गतेदेखि लागू हुनेगरी योगदानकर्ताहरूलाई निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ । साथै, कोषले वार्षिकरूपमा आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत रकम समेत योगदानकर्ताहरूलाई प्रदान गर्नेगरेको छ । कोषले योगदानकर्ताहरूबाट सञ्चित रकममा वार्षिक पाँच प्रतिशत ब्याजदर र मुनाफा रकम समेत प्रदान गर्दै आएको छ ।
कोषले योगदानकर्ताहरूलाई सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी तथा सरल सापटी उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारले मिति २०८२ साल असार २० गते सबै मन्त्रालय, निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न निर्देशन दिएको छ ।
निवृत्तभरण कोष ऐन, २०७५ कार्यान्वयनमा आएपछि नेपाल सरकारले निर्णय गरी कर्मचारी सञ्चय कोषलाई योगदानमा आधारित निवृत्तभरण कोष सञ्चालनको जिम्मा दिएबमोजिम कोषले मिति २०७६ साल साउनदेखि योगदानमा आधारित निवृत्तभरण कोष समेत सञ्चालन गर्न सुरू गरेको हो । सोहीअनुरूप मिति २०७६ साल साउन एक गतेपछि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, कोष, कम्पनी र समितिलगायतका संगठित संस्थामा नियुक्त भएका कर्मचारीहरुको सम्बन्धित संस्थासँग सम्झौता गरी कोषबाट योगदानमा आधारित निवृत्तभरण कोष सञ्चालन गर्दै आएको छ ।
योगदानमा आधारित अवकाश कोषअन्तर्गत योगदानमा आधारित निवृत्तभरण, योगदानमा आधारित आवधिक निवृत्तभरण, योगदानमा आधारित उपदान र योगदानमा आधारित आजीवन निवृत्तरण योजनाहरू सञ्चालनमा रहेका छन् ।