दोलखा । वैतेश्वर गाउँपालिका वडा नम्बर–१ को गैरीमुदी स्वास्थ्य चौकीको लागि आइतबार एक कार्यक्रमका बीच बिरामी बोक्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
वैतेश्वर गाउँपालिका र पर्यटन व्यवसायी भक्त बहादुर तामाङको आर्थिक सहयोगमा प्राप्त उक्त एम्बुलेन्सलाई वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले वडा अध्यक्ष भीमबहादुर तामाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले वडा तथा स्वास्थ्य चौकीको लागि एम्बुलेन्स अभाव देखेर सहयोगी दाताले एम्बुलेन्स दिएको भन्दै व्यवस्थित तरिकाले एम्बुलेन्स सञ्चालन गर्न वडालाई निर्देशन दिए । यसअघि वडा नम्बर–१ मा एम्बुलेन्स नहुँदा स्थानीयले महँगो शुल्क तिरेर अन्य सवारी प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । स्थानीय भक्त बहादुर तामाङले विदेशी साथीभाईहरूसँगबाट संकलन गरेको १५ लाख रकममा गाउँपालिकाले १० लाख थप गरेर नेपाल सरकारको राजस्व छुटमा सुविधा सम्पन्न एम्बुलेन्स ल्याइएको वडाध्यक्ष भीमबहादुर तामाङले बताए ।
एम्बुलेन्स वडा तथा पालिकाको व्यवस्थापनमा सञ्चालन गरिने छ । गैरीमुदी स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज अमित यादवका अनुसार वडामा एम्बुलेन्स नहुँदा यसअघि यहाँका बिरामीलाई अन्यत्र रिफर गर्न बोलेरो गाडी खोज्नुपर्ने बाध्यता रहेको थियो । कतिपय गर्भवती महिला तथा बिरामीले एम्बुलेन्स अभावमा समयमै उपचार पाउनबाट बञ्चित थिए । तर अब त्यो समस्या झेल्नुनपर्ने उनले बताए ।