काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँने साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।
दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले जानकारी दिए । साउन महिनाको सोमबारका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।
कोषले साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० भन्दा कमको टिकट नकाटिने जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
मारवाडी समाजले भक्तजनका लागि निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । यस वर्षदेखि कोषले साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । कोषले चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।