पोखरा — लमजुङको बेंसीसहरमा रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक समितिको मिलोमतोमा ६ करोड ५४ लाख रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको छानबिनबाट आर्थिक अनियमितताको तथ्य बाहिर आएको हो। पोखरास्थित सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख भेषराज रिजालका अनुसार संस्थाले नक्कली ऋणी खडा गरेर कर्जा प्रवाह गर्नुका साथै कमसल धितो राखी आफैंले ऋण लिनेजस्ता कार्य गरी संस्थाको आर्थिक स्थिति कमजोर बनाइएको हो। यति मात्र होइन, भारतीय नागरिकलाई समेत २५ लाख रुपैयाँ कर्जा दिइएको पाइएको छ।
सहकारीको मुख्यालय मनाङ चौतारी चोकमा रहेको छ भने भोटेओडार र चितीमा सम्पर्क कार्यालयहरू सञ्चालनमा थिए। आर्थिक छानबिनका लागि खटाइएका वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनमा अनियमितता पुष्टि भएको हो।रजिस्ट्रारको कार्यालयले गत असार १९ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा ठगीसम्बन्धी प्रतिवेदन बुझाएको थियो। त्यसको १७ दिनपछि साउन ४ गते प्रहरीले मुद्दा दर्ता गरेको छ।
छानबिन अनुसार, सहकारीका सचिव सन्तोष बस्नेत, पूर्वअध्यक्ष पदम राउत, हरिप्रसाद पौडेल, किशोर बस्नेतलगायतको मिलोमतोमा ठूलो मात्रामा रकम हिनामिना भएको हो।पूर्वअध्यक्षहरू शिव जोशी र हरि पौडेलको कार्यकालमा लगानी गरिएका रकम फिर्ता लिनका लागि दबाब दिइएको छ। उनीहरूले हालसम्म ७ लाख ५० हजार रुपैयाँ फिर्ता गरिसकेको सहकारी कार्यालयले जनाएको छ। सहकारीमा हाल ३ सय सेयर सदस्य र १ हजार ३ सय बचतकर्ता रहेका छन्। सहकारी ठगी प्रकरणबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ ।