काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रकम झण्डै २९ करोड रुपैयाँबराबरको रहेको जानकारी दिएको छ । प्राधिकरणका अनुसार सातवटा विभिन्न बीमा कम्पनीमार्फत २८ करोड ९२ लाख ६० हजार रुपैयाँबराबरको माग दाबी परेको हो ।
यसरी परेको कुल माग दाबीमध्ये शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँबराबरको १० वटा पर्दा नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँबराबरको तीनवटा माग दाबी परेको छ । प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा पनि तीन करोड ४१ लाख ५० हजारबराबरको सातवटा माग दाबी परेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा भने ६८ लाख रुपैयाँबराबरको तीनवटा मागदाबी परेको प्राधिकरणको भनाइ छ ।
यीबाहेक एनएलजी इन्स्योरेन्समा ४७ लाखबराबरको छवटा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ३१ लाख रुपैयाँबराबरको सातवटा, नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजारबराबरको १२ वटा माग दाबी परेको प्राधिकरणको भनाइ छ । यस्तै, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीमा ७७ लाख रुपैयाँबराबरको छवटा, आइजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँबराबरको नौवटा बीमा दाबीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सातवटै बीमा कम्पनीमा गरी कुल ६३ वटा बीमा दाबीमार्फत झण्डै २९ करोड रुपैयाँबराबरको माग दाबी परेको हो ।