बागलुङ । निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।
निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालको रडमा खिया लागेको छ भने भित्तामा घाँस उम्रेको पाइएको छ । दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीनपटक म्याद थप्दा समेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ । पटक–पटक ताकेता गर्दा समेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इञ्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोन समेत नउठाउने गरेको पाइएको बताए । नगरपालिकाले चेतावनीपत्र पठाउने तयारी थालेको उनको भनाइ छ ।
पटक–पटक म्याद मात्रै थपेर निर्माण व्यवसायी फर्केको जनाउँदै अहिले अस्पताल भवनमा इँटा झारेर काम नगरेको पाइएको हो । अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर पर्खालको काम बीचमै निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ । १२ करोड रुपैयाँको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो । भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इञ्जिनियर घर्तीको भनाइ छ । बागलुङ–१३ पैँयुपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्ने गरी २०७८ मा सम्झौता भएको थियो ।
बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्ने गरी सम्झौता भए पनि तीनपटक म्याद थप हुँदा समेत ५६ प्रतिशत प्रगति भएको छ । बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि १२ करोड ८७ लाख रुपैयाँमा श्री महालक्ष्मी÷जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो । काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिए । ‘काम गर्दा समयमै भुक्तानी पाइँदैन बर्खामा सामग्री ढुवानीमा समस्या हुन्छ, गलुवाको पहिरोका कारण अहिले इँटा ढुवानीमा समस्या भएको छ’, उनले भने ।
छ महिनाभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्किने र पाँच÷छजना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले बताए । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो लाग्न नसकेको हो ।
सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने गरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।