काठमाडौं । विदेशमा अध्ययनको लागि विद्यार्थी पलायनको गति विकराल बन्दै गएको छ । वार्षिकरुपमा करिब एक लाखको संख्यामा विद्यार्थीहरू विदेश जाने गरेको तथ्यांकहरूले पुष्टि गरेका छन् । यसरी विद्यार्थी अध्ययनका लागि विदेश जाँदा अर्बौ रूपैयाँ बाहिरने गरेको छ । अर्कोतर्फ स्वदेशमा भएका शिक्षण संस्थाहरू विद्यार्थीविहीन हुँदैछन् । शिक्षण संस्थामा लगानी गर्ने व्यक्तिहरूको लगानी उच्च जोखिममा परेको छ । सरकारी लगानीमा चलेका शिक्षण संस्थाहरूको अवस्था त झन् टिठलाग्दो छ । यसरी उच्चस्तरमा विद्यार्थी विदेश पलायन हुनु सरकार र सरोकार पक्षको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । विद्यार्थीहरू अध्यनका लागि विदेश जान किन लालयित भएका हुन्, कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विदेश जानुपर्ने बाध्यता हो कि रहर मात्रै, हाम्रा शिक्षण संस्थाहरूप्रति वितृष्णा बढ्नुका कारणहरू के–के होलान्, विद्यार्थी विदेश अध्ययन गर्न जाँदा राज्यलाई तत्काल र दीर्घकालमा के–के फाइदा र हानी हुन सक्ला आदिको वस्तुनिष्ठ लेखाजेखा गर्नु दूरदर्शिता ठहर्छ । वैदेशिक अध्ययनमा बाहिरिएका विद्यार्थी र तिनीहरूले लाने गरेको रकमको तुलनात्मक अवस्था हेर्दा चिन्तनीय देखिन्छ ।
वैदिशक अध्ययनमा जानको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने हुन्छ । यसरी प्रमाणपत्र लिने भिषालगायत कारणले सबै विदेश जादैनन् । पछिल्ला तथ्यांकअनुसार अध्ययनका लागि जाने देशहरूको प्राथमिकतामा अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, अमेरिका, कोरिया, भारत क्रमशः प्रमुख रहेका छन् । विदेश अध्ययनमा जाँदा अर्बौँ रूपैयाँ पनि विदेशिन गएको छ । तथापि वैदेशिक अध्ययनमा जाँदा देखिएको खर्चलाई मात्रै हेरर नकारात्मक धारणा बनाउनु न्यायोचित हुदैन् । एक सबल र सफल नागरिक बनाउन शिक्षामा गरिएको लगानीको प्रतिफल व्यक्ति र राज्यले दीर्घकालसम्म पाउने हुन्छ ।
वैदेशिक अध्ययनमा आकर्षण बढ्नुका कारण
वैदेशिक अध्ययनमा आकर्षण बढ्नुका विविध कारणहरू हुन सक्छन् । अहिलेको विश्व भूमण्डलीकरणको प्रतिस्पर्धी युगमा नयाँ ठाउँहरूमा गएर गुणस्तरीय शिक्षा हासिल गर्ने अपेक्षा हुनु स्वाभाविकै हो । नयाँ ठाउँ हेर्ने नयाँ कुरा सिक्ने जिज्ञासा र अवसरको खोजी गर्नुलाई अन्यथा मान्न सकिन्न । प्रतिस्पर्धी युगमा समयानुकूल शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नु अभिभावक र सरकारको दायित्व पनि हो । वैदिशिक अध्ययनमा जाने अधिकांश विद्यार्थीहरूले सुरूको जाने बेलामा खर्च गरे पनि पछि पढ्दै कमाउँदै गर्ने अवसर पाउँछन् । अझ कतिपय विद्यार्थीले नेपालमा परिवारलाई खर्च समेत पठाउँछन् । त्यस कारणले पनि ऋणधन गरेर भए पनि विदेश जाने गरेको कैयौँ उदाहरण छन् । अर्कोतर्फ एक पटक विदेश गइसकेका विद्यार्थी त्यहाँको रहनसहन सुविधा तथा वातावरणीय अनुकूलताका कारणले पनि सकभर नफर्किने प्रयासमा रहेका हुन्छन् ।
स्वदेशमा रहेका शिक्षण संस्थाहरूको अस्तव्यस्तता, शिक्षा र रोजगारीसँग तालमेल नहुनु, तोकिएको समयमा अध्ययन र परीक्षा नहुनु, पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकनमा समयानुकूल सुधार नहनु, परीक्षाको नतिजा प्रकाशनमा अस्वाभाविक विलम्ब र हेलचेक््याइँ हुनु, काम गर्दै पढ्दैको अवसर न्यून हुनु, पढाइ सम्पन्न गरिसकेपछि पनि रोजगारी अवसर ज्यादै न्यून रहनु, उच्च शिक्षाका शिक्षण संस्थाहरूमा चरम राजनीति र अराजकताले अनुशासनहिनता मौलाउनु, देश र विश्वपरिवेशको श्रमबजार समेतलाई ध्यानमा राखेर आवश्यक जनशक्ति उत्पादन गर्नेखालको दीर्घकालीन र अल्पकालीन योजनाको तर्जुमा नहुनु, शिक्षाको विकास र विस्तारका लागि दूरदर्शि नीतिनियमको अभाव आदिलाई विद्यार्थी पलायनको प्रमुख कारण मान्न सकिन्छ ।
असर: माथिल्ला तहको विद्यार्थीको तुलनामा कक्षा १२ उत्तीर्ण भएपश्चात् विदेशिनेको संख्या उच्च छ । विद्यालयतहका कक्षाहरूमा अध्ययनका क्रम नै उनीहरूको लक्ष्य उच्च शिक्षाको लागि विदेश जाने मनोविज्ञान बनाइसकेका हुन्छन् । देशभित्रका कलेजहरू विद्यार्थीविहीन हुने क्रम बढ्दो छ । निजी क्षेत्रमा खुलेका शिक्षण संस्थाहरूको लगानी डुब्ने अवस्थामा पुगेको सञ्चालकहरूको गुनासो र चिन्ता सार्वजनिक हुन थालेका छन् । इन्जिनियरिङ अध्ययन संस्थालगायतका लागि छुट्याएको छात्रवृत्ति कोटासमेत पर्याप्त आवेदन नपरेका कारण खेर जाने गरेको छ । कीर्तिपुरलगायतका कतिपय क्याम्पसमा सञ्चालित विषयगत संकायहरूमा विद्यार्थी संख्या न्यून मात्रै नभएर शून्य नै भएका छन् । अर्थात् विद्यार्थीको घट्दो आकर्षणका कारण शिक्षण संस्था र त्यहाँ कार्यरत जनशक्तिको भविष्य नै अनिश्चत बन्दै गएको छ ।
अध्ययनका लागि विदेशिएका युवाजनशक्ति यथाशक्य विदेशमा नै बस्ने प्रयास गरेका हुन्छन् । ज्यादै न्यून सख्यामा मात्र स्वदेश फर्किने गरेको पाइन्छ । विदेशमा अध्ययन गर्न जाने फेसनको रूपमा नै विकास भएको जगजाहेर नै छ । यस्तो विसम परिस्थितिका कारण देशमा युवाजनशक्तिको ह्रास आउने क्रम बढ्दो छ । रोजगारीको लागि र अध्ययनका लागि युवाजनशक्ति विदेशिने प्रवृत्तिले निरन्तरता पाइराखेमा देश वृद्धाश्रममा परिवर्तन नहोला भन्न सकिन्न । देश विकासका लागि आवश्यक दक्ष युवाजनशक्तिको अभावमा कति समयसम्म रेमिट्यान्सको आधारमा रमाउने हो एकिन छैन । आफ्नो देश विकास नगरेर रेमिट्यान्सलाई प्रमुख आयस्रोत मान्नु सुन्निएर मोटाउनुजस्तै हो ।
निष्कर्ष: विद्यार्थीको वैदेशिक अध्यनको मोहलाई परिवर्तन गरेर क्रमशः स्वदेशतर्फ आकर्षण गर्ने काम कठिन भए पनि असम्भवचाहिँ छैन । यसका लागि विभिन्न माध्यम र उपाय हुन सक्छन् । शिक्षण संस्थाहरूको व्यवस्थापनलाई गुणस्तरीय र समसामयिक हुनुपर्ने, शिक्षा नीति भविश्यदर्शी बनाउने, पाठ्यक्रम र शिक्षण विधि समयको मागअनुसार व्यावहारिक र रोजगारमुखी बनाउने, शैक्षिक क्यालेन्डर निर्माण गरेर कडाइका साथ पालन गर्ने, शिक्षण पेसामा अब्बल र समर्पित जनशक्तिलाई प्रवेशका लागि आकर्षक सेवा सुविधाका प्याकेज ल्याउने, विद्यार्थीलाई पढ्दै कमाउँदैको अवसर प्रदान गर्ने, शिक्षण संस्थाहरूलाई विशुद्ध प्राज्ञिक स्थलको रुपमा विकास र विस्तार गरिनुपर्ने, विदेशमा अध्ययन पूरा गरेकाहरूलाई स्वदेश फर्काउनका लागि आकर्षक सुविधा र सम्मानका योजनाहरू ल्याउनुपर्ने, देशमा बसेर केही हुँदैन विदेशमा सबैथोक पाइन्छ भन्ने नकारात्मक मानसिकतालाई चिर्न सरकार र सरोकार पक्षले दूरदर्शी योजना ल्याएर आक्रमक कार्यान्वयन आजको खाँचो हो । बालीनालीको लागि छ महिना, फलफूल खेतीको लागि १० वर्ष र मानिसलाई शिक्षा प्रदान गरेर सबल र सफल नागरिक बनाउन कम्तीमा एक सय वर्षको योजना बनाउनुपर्छ भन्ने शाश्वत भनाइलाई आत्मसात् गर्नेतर्फ पनि हेक्का पुर्याउन बिर्सनु हुन्न । (लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव हुन् ।)