काठमाडौँ , काठमाडौँको टोखा क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको युरो र डलरसहित पक्राउ परेका नारायण पौडेललाई अदालतले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले असार ३२ गते उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। राजस्व अनुसन्धान विभागले पौडेल र ट्रक (कन्टेनर) चालक कुसाङ लामा ‘फुच्चे’लाई प्रतिवादी बनाउँदै वैशाख २ गते मुद्दा दायर गरेको थियो। २०८१ चैत ४ गते राति करिब १० बजेतिर टोखा–झोर महांकालबाट ना.७ ख १६५२ नम्बरको ट्रकबाट २५ करोड ३४ लाख ७८ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको थियो। ट्रक चालक कुसाङ लामा पनि सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–१ का बासिन्दा हुन्। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको हो।टोखा–१० स्थित महादेवटार हाइटमा बसोबास गर्दै आएका नारायण पौडेल पुराना खासा व्यापारी हुन्। तिब्बती नागरिकसँग विवाह गरेका पौडेलले २०७२ मा तातोपानी नाका बन्द भएपछि रसुवाको केरुङ रुटमार्फत सुन तस्करी गर्न थालेको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, पौडेलले दिइएको ठूलो परिमाणको विदेशी मुद्रा लिएर चालक कुसाङ ‘फुच्चे’ केरुङतर्फ जाँदै थिए। उनीहरूको योजना चीनको केरुङबाट सुन खरिद गरी नेपाल भित्र्याउने रहेको खुलेको छ। स्रोतका अनुसार, “२५ करोड रुपैयाँ बराबरको रकम सुन खरिदका लागि केरुङ लगिँदै थियो,” अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।