बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तनको संकेत झन् प्रस्टिएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको छ।कांग्रेस संसदीय दलको कार्यालयमा सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा बसेको बैठकपछि दलका २१ जना सांसदहरूले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। दर्ता भएका प्रस्तावमा हालै सम्म सरकारमा रहेका चार मन्त्रीहरूको पनि हस्ताक्षर छ। मुख्यमन्त्री लामा नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असहमति जनाउँदै कांग्रेसभित्र चर्किएको असन्तुष्टि नै यो कदमको मुख्य कारण मानिएको छ। प्रस्ताव दर्ता हुनु केही समयअघि सरकारका प्रवक्ता सुरजचन्द्र लामिछाने, संस्कृति मन्त्री विमल ठकुरी, सहकारी मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए। उनीहरूले आफ्नो राजीनामा मुख्यमन्त्रीलाई ह्वाट्सएपमार्फत् पठाएका थिए। यस घटनाले स्पष्ट रूपमा देखाएको छ कि नेपाली कांग्रेस बागमती प्रदेशभित्र गहिरो आन्तरिक संघर्ष जारी छ। पार्टी सभापति शेरबहादुर देउवाले केही दिनअघि मुख्यमन्त्री लामालाई भेटी नेतृत्व हस्तान्तरणको निर्देशन दिएका थिए। तर लामा मुख्यमन्त्रीबाट नहट्ने अडानमा रहेपछि इन्द्रबहादुर बानियाँ पक्षले अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णयमा पुगेको हो। १३ पुस २०७९ मा भएको संसदीय दलको निर्वाचनमा बानियाँ लमासँग पाँच मतले पराजित भएका थिए। लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत पाएका थिए। अहिले त्यही मत समूह बानियाँको पक्षमा झुकेको देखिएको छ। बागमती प्रदेशको आगामी सत्ता समीकरण कस्तो बन्छ भन्ने विषयमा चासो बढ्दै गएको छ। अबको निर्णय कांग्रेस नेतृत्वको रणनीति, समर्थन र समन्वयमा निर्भर रहने देखिन्छ।