वीरगञ्ज (पर्सा) । नेपाली सेनाको श्रीजङ्ग गणले वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ ।
सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए ।
उनले महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको जानकारी गराए । वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेको छ ।
वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै फोन गरेपछि पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई आवश्यकताको आधारमा ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार उनीहरुले ट्याङ्करबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेका छन् ।
यहाँ गत साउन १ गतेदेखि नै खानेपानी ट्याङ्करमार्फत पानी वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ ।
नेपाली सेनाले वीरगञ्ज महानगर–१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, वीरगञ्ज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर १४ बहुअरीचोक, वीरगञ्ज महानगर १५ भिष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर २४ रामगढवा, महानगर २६ सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेको छ ।
पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्याङ्करबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए । उनका अनुसार पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आइरहेको छ ।