वासिङ्टन । संयुक्त राज्य अमेरिकाले विभिन्न देशहरुलाई लगाएको अतिरिक्त कर लागू हुने मिति अब तलमाथि नहुने स्पष्ट पारेको छ । वाणिज्यमन्त्री हुवार्ड ल्युनिकले आइतबार अब यसबारे समय विस्तार नहुने स्पष्ट पारेका हुन् ।
‘अब थप समय दिइँदैन । अगस्ट १ देखि कर लागू हुन्छ’, ल्युनिकले फक्सन्युज सन्डेमा भने, ‘त्यस दिनदेखि अब लागू हुन्छ । भन्सारहरुले रकम संकलन थाल्नेछन् । हामी अघि बढ्नेछौँ ।’ उनले राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार पनि स्कटल्यान्डमा युरोपेली संघसँग यहीबारे वार्तामा रहेको बताएका थिए ।
उनले युरोपेली देशहरुले पनि अमेरिकासँग व्यापार सम्झौता चाहेको ल्युनिकले उल्लेख गरेका थिए । उनले यसबारेका सबै निर्णय राष्ट्रपति ट्रम्पमा निर्भर गर्ने पनि बताएको एएफपीले जनाएको छ ।
हालसम्म अमेरिकाले पाँचवटा देशहरु बेलायत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र जापानसँग मात्रै व्यापार सम्झौता गरेको छ । अमेरिकाले आफूसँग अधिकांश देशहरुले व्यापारमा लाभ लिएको ट्रम्पले आरोप लगाउँदै आएका छन् । सोही कारण उनी नयाँ व्यापार सम्झौता गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिँदै आएका छन् । सम्झौतामा नआए उनीहरुको ‘अव्यावहारिक व्यापार’माथि अंकुश लगाउने अमेरिकाको योजना छ ।