काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा कार्यान्वयन गरिरहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् ।
नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच २०७४ भदौ २९ मा भएको सम्झौताअनुसार नै परियोजना कार्यान्वयनले निरन्तरता पाउने जानकारी अर्थ मन्त्रालयलाई दिएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले अमेरिकाले यसबारे पुनरवलोकन कार्य सकेको र नेपाल कम्प्याक्टको निरन्तरताको लागि सिफारिस भएको जानकारी प्राप्त भएको बताए । सोमबार नै नेपालस्थित अमेरिकी दूतावासले पनि एमसीसीले निरन्तरता पाउने जनाएको छ ।
‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौँ’, दूतावासले एक सूचनामा भनेको छ, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा टेवा पुर्याउँछन् ।’
नयाँ राष्ट्रपति बनेसँगै डोनाल्ड ट्रम्पले अमेरिकाले अधिकांश देशलाई दिँदै आएको सबैखाले बाह्य सहयोग रोकेको थियो। ९० दिनका लागि समीक्षा नगरुन्जेल सहयोग रोक्का राखिएकामा अमेरिकी सहयोग नियोग यूएसएड खारेज नै भइसकेको छ । यूएसएडमार्फत हुने सबै सहायता रोकिए पनि नेपालमा एमसीसीलाई भने अमेरिकाले रोकेको थिएन । यद्यपि यसको समीक्षा भइरहेको थियो । कर्पोरेसनले नेपालमा एमसीसी नरोक्न ट्रम्प प्रशासनलाई औपचारिक रुपमा आग्रह गरेको थियो । सोहीअनुसार एमसीसीले अब नेपालमा निरन्तरता पाउने अर्थ मन्त्रालयले जनाएको छ ।