काठमाडौं , सामाजिक उद्यमशीलता र दिगो व्यवसाय प्रवर्द्धनका विविध पक्षमा अर्थपूर्ण विमर्शसहित ‘टुवर्डस् सस्टेनेबल आन्टरप्रिनरशिप इकोसिस्टम’ अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ।किङ्स कलेजको आयोजना तथा होटल सोल्टीमा सम्पन्न दुई दिने नेपाल उद्यमशीलता फोरम २०२५ मा नेपालसहित विभिन्न मुलुकका ५०० भन्दा बढी उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा सामाजिक परिवर्तनकर्मीहरूको सहभागिता रह्यो। सम्मेलन संयोजक सगुन बाबा श्रेष्ठका अनुसार कार्यक्रमले केवल वैचारिक छलफलमा मात्र सीमित नरही व्यवहारिक समाधान र साझेदारीको मार्ग पनि खोलेको छ। उनले भनिन्, “यो सम्मेलनले उद्यमशील भविष्यका लागि सरोकारवाला र अभ्यासकर्ताबीच गहिरो सम्बन्ध स्थापना गर्दै नयाँ सोच र प्रेरणा प्रदान गर्‍यो।” दुई दिनसम्म चलेको सम्मेलनमा ‘दिगो व्यवसाय’, ‘प्रविधिमा नवप्रवर्तन’, ‘समावेशी वृद्धि’, ‘सामाजिक उद्यममा नाफा र उद्देश्यको सन्तुलन’ लगायत विषयमा विशेषज्ञहरूबीच गहन बहस र अनुभव आदान–प्रदान भएको थियो।अर्थतन्त्र, जलवायु स्मार्ट अभ्यास, समावेशी शिक्षा, सार्वजनिक–निजी साझेदारी, आर्थिक स्वतन्त्रता र नीतिगत सुधारजस्ता विषयमा भएका प्यानल छलफलहरूले सहभागीहरूलाई सामाजिक उद्यमशीलताको बहुआयामिक पक्षमा नयाँ दृष्टिकोण प्रदान गरेको आयोजकहरूको भनाइ छ। किङ्स कलेजका अनुसार सन् २०१६ मा पहिलोपटक आयोजित सामाजिक उद्यमशीलता सम्मेलनदेखि हालसम्मको यात्रामा यो संस्करण विशेष उपलब्धिको रूपमा स्थापित भएको छ।