काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ । बैंकको एफपीओ कमलादीस्थित कार्यालयमा मंगलबार बिहान ९ बजे बाँडफाँट भएको हो । बैंकले प्रतिकित्ता एक सय रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल एक सय ५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन चार गतेसम्म ९२ लाख ५० हजार चार सय ६९ कित्ता एफपीओ निष्काशन गरेको थियो । सो सेयरमा कुल १८ लाख २५ हजार नौ सय २२ जनाले तीन करोड ८५ लाख ९१ हजार एक सय ६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १७ लाख चार हजार दुई सय ७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरूलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ । जसअनुसार कुल नौ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष भएको नौ कित्ता सेयर सोही लगानीकर्ताहरूमध्ये २० कित्ताका लागि आवेदन दिनेहरूमा बाँडफाँट गरिएको छ । यसअनुसार नौ जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन् ।