काठमाडौं ,काठमाडौं उपत्यकामा गुण्डागर्दी विरुद्ध प्रहरीले ठूलो अपरेशन चलाएको छ। बिहीबार रातिदेखि चलाइएको अपरेसन अन्तर्गत ठमेल र महाराजगन्ज क्षेत्रबाट कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी पक्राउ परेका छन्।चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। उनी यसअघि पनि २०७४ वैशाख २६ मा महाराजगन्जबाट नै पक्राउ परेका थिए। गुण्डागर्दी नियन्त्रणमा कडा निगरानी गर्न उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर रायमाझी र काठमाडौंका एसएसपी विश्व अधिकारी रातभर सक्रिय रहेका थिए। प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रका रेष्टुरेन्ट र नाइट क्लबमा बसेर हप्ता असुली र झैझगडा गर्दै आएका समूहलाई निशाना बनाएको हो। साउन १५ गते बिहान ३ बजेतिर ठमेलको एक दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका थिए। उनी नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गर्दै गर्दा नियन्त्रणमा लिइएका हुन्। सानुभाइ नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखाको सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात कुमार श्रेष्ठ ‘घैँटे’का निकट सहयोगी मानिन्छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूको स्क्रिनिङपछि थप अनुसन्धान अघि बढाइनेछ। गुण्डागर्दीमा संलग्नहरूमाथि कडा कानुनी कारबाही हुने स्पष्ट संकेत प्रहरी प्रशासनले दिएको छ।