मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने पनि आर्थिक वर्ष २०८१/८२को ११ महिनामा रेमिट्यान्स १५ दशमलव पाँच प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १७ दशमलव दुई प्रतिशतले बढेको थियो । २०८२ जेठ महिनाको मात्र रेमिट्यान्स एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो रेमिट्यान्स एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो । रेमिट्यान्सको प्रमुख स्रोत भनेको नै वैदेशिक रोजगार हो । राष्ट्र बैंकको यही तथ्यांकलाई आधार मान्दा पनि नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको कुन हदसम्मको योगदान रहेको छ र यसमा वैदेशिक रोजगारी र युवाहरूको भूमिका कस्तो छ भन्ने बारेमा प्रस्टरुपमा बुझ्न सकिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २५ प्रतिशतभन्दा बढी रहेको छ । रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रलाई जोगाएको र विदेशी मुद्रा सञ्चिति बढाएको स्पष्ट तथ्य हो । यसै कारण, वैदेशिक रोजगारीलाई देश विकासको अपरिहार्य हिस्सा मानिन्छ । परिवारलाई आर्थिक सहयोग गर्न तथा आफ्नो भविष्य सुरक्षित गर्न चाहनेहरूले वैदेशिक रोजगारी रोज्ने गरेका छन् ।
नेपालमा अहिलेसम्म पनि बहुसंख्यक जनता ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन् । ती क्षेत्रमा शिक्षाको पहुँच विस्तार हुँदै गए पनि आर्थिक अवसरको अभाव, बेरोजगारी, र असमान विकासले गर्दा नेपाली युवा दिनदिनै वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका छन् । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको संख्या वर्षेनी बढ्दो क्रममा छ र यो प्रवृत्ति राष्ट्रिय अर्थतन्त्र र सामाजिक संरचनामा महत्वपूर्ण प्रभाव पारिरहेको छ । नेपालमा हरेक वर्ष लाखौँ युवा श्रमबजारमा प्रवेश गर्छन्, तर त्यही अनुपातमा रोजगारी सिर्जना भएको पाइँदैन । कृषि क्षेत्रको आधुनिकीकरणमा ढिलाइ, उद्योगहरूमा सीमित लगानी र सरकारी रोजगारीमा प्रतिस्पर्धा अत्यधिक भएकाले धेरै युवा बेरोजगार बस्न बाध्य छन् । यस्तो स्थितिमा विदेश जानु उनीहरूका लागि एक मात्र विकल्पजस्तो देखिँदै आएको छ । विदेश गएर कमाएको पैसा नेपालमा खर्च गर्दा सोही आम्दानीले उच्च जीवनस्तर कायम गर्न सकिन्छ । आधुनिक सुविधा, शिक्षा, स्वास्थ्य सेवा, घर निर्माण, जमिन किन्नेजस्ता कामहरू गर्न वैदेशिक आम्दानीले ठूलो भूमिका खेलेको छ। विदेशबाट फर्किएका व्यक्तिहरूले बनाएका आकर्षक घर र ल्याएका सुविधा देखेर अन्य युवाहरू पनि विदेश जाने चाहाना बन्ने गरेका छन् ।
वैदेशिक रोजगारी र रेमिट्यान्सको कुरा गर्दा पछिल्लो समय कतार, साउदी अरेबिया, यूएई, मलेसिया, दक्षिण कोरिया र जापानजस्ता मुलुकमा श्रमिकको माग उच्च भएकाले नेपालीहरूका लागि रोजगारीको अवसर सहज भएको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरियाजस्तो देशमा राम्रो पारिश्रमिक र सुरक्षासहितको रोजगार पाउन सकिने भएपछि वैदेशिक रोजगारीप्रति आकर्षण बढेको छ । नेपालमा वैदेशिक रोजगारका दलालहरू, एजेन्टहरू र केही मिडिया संस्थाहरूले विदेशमा सुनौलो भविष्य देखाउने सपना देखाउँछन् । ‘सपना देखाउने’ विज्ञापन र प्रेरणादायी कथाहरूले गर्दा वास्तविकता नबुझी पनि धेरै युवा विदेश जान इच्छुक हुन्छन् । कतिपय अवस्थामा त ठगिने डर हुँदाहुँदै पनि अभावले गर्दा उनीहरू विदेशिने निर्णय गर्छन्, यसले गर्दा पनि पछिल्लो समय वैदेशिक रोजगारीमा ठगिने र ठग्नेहरूको संख्या बढ्दै गएको छ । सरकारले विभिन्न देशहरूसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीलाई वैध तथा सुरक्षित बनाउने प्रयास गरेको भए पनि यो प्रयास प्रभावकारी हुन सकेको छैन । पासपोर्ट वितरण प्रणाली, श्रम स्वीकृति, र बीमा सेवा सहज भएकाले धेरैलाई प्रक्रिया सजिलो लाग्ने गरेको छ । साथै, वैदेशिक आम्दानी (रेमिट्यान्स)को ठूलो हिस्सा देशको अर्थतन्त्रमा योगदान दिएकाले सरकारले पनि प्रत्यक्ष वा परोक्षरूपमा यसलाई समर्थन गर्दै आएको छ ।
नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र विकास योजनाहरूको कार्यान्वयनमा ढिलाइले गर्दा स्थानीयस्तरमा रोजगारी सिर्जना हुन सकेको छैन । यो निराशाले गर्दा पनि धेरै युवाले विदेश जान चाहान्छन् । उदाहरणका लागि १० वर्षे सशस्त्र द्वन्द्व, त्यसपछिको संक्रमणकाल र पछिल्ला दशकको अस्थिर सरकारहरूले युवामा विश्वास गुमाएको देखिन्छ ।
नेपालमा ‘विदेश गएको’ भन्ने कुरा सामाजिक प्रतिष्ठासँग जोडिएको हुन्छ । विदेश जानु एउटा ‘सफलता’को प्रतीक बनेको छ । यदि कुनै युवाले विदेश नपुगेको भए उनलाई अल्छी, नलाग्ने भन्ने दृष्टिकोणले हेरिन्छ । यस्तो सामाजिक मानसिकताले पनि युवालाई विदेश जान प्रेरित गर्छ । केही युवा विदेशमा सीप सिक्ने र भविष्यमा नेपालमै व्यवसाय गर्ने उद्देश्यले पनि विदेशिने गरेका छन् । कोरियाजस्ता देशमा पुगेका नेपालीहरूले भाषा, प्रविधि र अनुशासनमा धेरै सुधार ल्याएको देखिन्छ । यस्ता सीपहरू नेपाल फर्किएपछि उपयोग गर्न सकिने भएकाले विदेश जानु सीप विकासको अवसरका रूपमा पनि लिइन्छ ।
नेपालमा शिक्षाको पहुँच त विस्तार भएको छ, तर शिक्षा र बजारको आवश्यकताबीच ठूलो अन्तर छ । धेरैजसो शिक्षित युवा सामान्य शैक्षिक योग्यता लिएर स्नातक हुँदैछन्, तर तिनीहरूसँग व्यावसायिक वा प्राविधिक सीप हुँदैन । यस्तो अवस्थामा उनीहरू नेपालमा उपयुक्त रोजगारी पाउन असफल हुन्छन् र वैदेशिक रोजगारीतर्फ मोडिन्छन्, जहाँ सामान्य सीप भएकाले पनि काम पाउन सकिन्छ । यस्तो असन्तुलनले नेपालमा ‘सीपयुक्त बेरोजगार’ र ‘अवसरविहीन शिक्षित’ पुस्ताको उदय गराइरहेको छ । यसले वैदेशिक रोजगारीलाई बाध्यता बनाएको छ, विकल्प होइन । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिट्यान्सलाई लक्षित गर्दै बैंक र वित्तीय संस्थाहरूले विभिन्न योजना ल्याएका छन् । प्रवासीहरूका लागि घर कर्जा, बीमा सुविधा, बचत खाता र लगानी योजनाहरू यसका केही उदाहरणहरू हुनु । यसले विदेश जाने आकर्षण अझ बढाएको छ, किनभने विदेश बसेर कमाएको पैसाले नेपालमै घर–जग्गा किन्ने सपना पूरा गर्न सकिन्छ र राम्रो जीवनयापन गर्न सकिन्छ भन्ने मानसिकता आम युवाहरूमा पलाएको छ । पहिलेको तुलनामा अहिले सामाजिक सञ्जाल, युट्युब, टिकटक, भ्लग, आदि माध्यमबाट विदेशमा बसेका नेपालीहरूको जीवनशैली सहजै देख्न सकिन्छ । उनीहरूले विदेशमा कति कमाउँछन्, कस्तो सुविधा छ, भन्ने कुरा खुलेर प्रस्तुत गर्ने गर्छन् । यो दृश्य सामग्री हेरेर धेरै युवा विदेशमा ‘सपना’ खोज्न लाग्छन् । साथै, वैदेशिक रोजगारीका लागि आवेदन दिने प्रक्रिया पनि अनलाइनमार्फत सजिलो हुँदै गएको छ । डिजिटल पहुँचले वैदेशिक रोजगारको अवसरसम्बन्धी जानकारी फैलिन मद्दत गरेको छ ।
शहरी क्षेत्रमा शिक्षा र रोजगारीको पहुँच केही सहज भए पनि ग्रामीण क्षेत्रका युवाहरू अझै पनि वैदेशिक रोजगारीलाई प्रमुख विकल्पको रूपमा लिन्छन् । गाउँमा उद्योग वा सेवा क्षेत्रको विकास नहुनु, खेतिपातीमा भविष्य नदेख्नु, र कृषिमा लगानी गर्न नसक्ने अवस्थाले गर्दा तिनीहरू विदेश जान मजबुर छन् । बैदेशिक रोजगारीमा बाध्यता र आकर्षण दुवै बढ्दै जाँदा अहिले धेरै गाउँ ‘पुरुषविहीन’ बन्दै गएका छन्, जहाँ युवा पुरुषहरू प्रायः खाडी मुलुकहरूमा गएका हुन्छन् र गाउँमा वृद्ध, महिला र बालबालिका मात्र देखिन्छन् ।