काठमाडौ,थाई एयरवेजको जीएसए सोसाइटी इन्टरनेसनल ट्राभल्सले रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘जीवनको उपहार दिऔँ’ भन्ने मूल नारासहित काठमाडौंको हात्तीसारमा सो कार्यक्रम आयोजना गरिएको हो । मानव सेवा र सामाजिक उत्तरदायित्वअन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाइटी इन्टरनेसनल ट्राभल्सले जनाएको छ । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पु¥याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व हो । थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । कार्यक्रममा सोसाइटी इन्टरनेसनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर एक सय ३१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।