नेपालमा सबैभन्दा बढी घुम्न आउने पर्यटकहरु दक्षिण एसियाली मुलुकको रहेका छन् । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार एक सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । तीमध्ये दक्षिण एसियाली मुलुकहरुबाट मात्रै ३३ हजार सात सय ८७ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन ४८ प्रतिशत हिस्सा हो । यस्तै, अन्य एसियाली मुलुकहरुबाट १३ हजार ५२ जना नेपालमा भित्रिएका छन् भने युरोपबाट नौ हजार दुई सय ९२ जना, अमेरिकाबाट १२ हजार सात सय ७५ जना, ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना, मध्यपूर्वबाट आठ सय २६ जना, अफ्रिकाबाट तीन सय १८ जना र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष आठ दशमलव सात प्रतिशतले बढी पर्यटक नेपाल आएका छन् । महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभर गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा आएको संकेत गरेको छ ।सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल छ लाख ४७ हजार आठ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ ।
जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८ दशमलव सात प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना अर्थात् नौ दशमलव आठ प्रतिशत, तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (नौ दशमलव चार प्रतिशत), बंगलादेशबाट चार हजार चार सय १३ जना (छ दशमलव तीन प्रतिशत) र बेलायतबाट तीन हजार चार सय ४७ जना (पाँच दशमलव एक प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका सीईओ जोशीले भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवद्र्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको बताए ।