दोलखा,भिरालो जग्गा र फाट्टफुट्ट घर देखिने जिरी नगरपालिकाको माथिल्लो लेकमा अवस्थित बुलडाँडाको सिरान गाउँमा यतिबेला बारीका पाट्टैभरी दुईथरी सेतो र रातो फुल फुलेको देख्न सकिन्छ । बाटोबाट हेर्दा फूलको बगैँचाजस्तो देखिने त्यो रमणीय बारीका पाटाभित्रको रमणीय दृश्य फूलको बगैँचा नभएर यहाँको शेर्पा समुदायको आम्दानीको स्रोत बन्दै गएको भैँसे सिमीका बोटहरु हुन् ।जिल्लाको जिरी नगरपालिका–६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारीका लागि भैँसे सिमीको खेतीलाई प्राथमिकता दिन थालेका छन् । विषादि तथा रासायनिक मलरहित अर्गानिक जिरीको उत्पादनको रूपमा भोटे तथा भैँसे वर्षे सिमीको खेतीतर्फ यहाँका स्थानीयले जोड दिएका छन् । थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसानले आलुसँगै भैँसे सिमी खेतीलाई विस्तार गर्दै लगेको स्थानीय कृषक दावा शेर्पाले बताए । शेर्पाले उक्त जातको सिमीको उत्पादन सुरु गरेको चार वर्ष भयो । उनले गत वर्ष २४ पाथी सिमी बिक्री गरेका थिए । कोसा, दाल र दानाको परिकार बनाएर खान सकिने अर्गानिक भोटे–भैँसे सिमी बुलडाँडाबाहेक अन्यत्र खेती नहुने शेर्पा सुनाउँछन् ।
जिरीकै अर्गानिक परिकारको रूपमा उत्पादन सुरु भएको भँैसे सिमीको खेतीमा अहिले बुलडाँडाका करिब २० घरधुरी शेर्पा समुदाय छन् । उनीहरुले बारीभर दुई थरीको रातो र सेतो दाना फल्ने भैँसे र भोटे सिमीलगाएका छन् । यहाँका स्थानीयले पछिल्ला केही वर्षदेखि जिरीकै अर्गानिक उत्पादन र ब्रान्डको तरकारीको रूपमा उच्च लेकमा खेती हुने भैँसे सिमीको तरकारी खेतीलाई जोड दिएको शेर्पाले बताए । बिउ र थाङ्ग्राबाहेक लगानी गर्न नपर्ने मल पनि दिनुनपर्ने उक्त जातको सिमीबाट एक जना कृषकले सिजनमा १५ देखि २० हजारसम्म आम्दानी लिने गरेका छन् । फागुनमा रोपिएको सिमी असोजमा पाक्ने हुँदा दशैँ खर्चको जोहो हुने शेर्पा बताउँछन् ।
सुरुमा रोप्ने र थाँग्रो लगाएपछि एउटै लहराबाट तीनदेखि पाँच केजीसम्म सिमी फल्ने गरेको अर्का कृषक नावा शेर्पाले बताए । शेर्पाले दुई रोपनीमा सिमी लगाएको बताए । उक्त सिमी काँचोप्रति केजी दुई सय रुपैयाँ र सुकेको गेडा सिमी पाथीको सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । करिब २९ घरपरिवार रहेको बुलडाँडामा २० घरपरिवारले उक्त जातको सिमी लगाएका छन् । जिल्लाका अन्य क्षेत्रमा कमै खेती हुने उक्त सिमीलाई हिजोआजको समयमा हरियो तरकारी र हिउँदमा दाल र गेडागुडी दानाको रूपमा खान सकिने हुँदा स्थानीय जिरी बजारमै उक्त सिमीको माग बढेको छ । सानो तर कृषिमा राम्रो सम्भावना बोकेको बुलडाँडामा मात्रै उत्पादन हुने भैँसे सिमीलाई जिरी नगरपालिका तथा निजी क्षेत्रले जिरीको अर्गानिक उत्पादनको रूपमा विस्तार गर्न सके भैँसे सिमीले कृषिमा जिरीलाई चिनाउन सक्ने स्थानीयहरु बताउँछन् । जिरीलाई चिज र छुर्पीको परिकारले जिरीलाई अन्यत्र चिनाएको जसरी नै भैँसे–भोटे सिमीको तरकारी परिकार, क्वाँटी, सातु तथा दालको परिकारले पनि थप चिनाउन सक्ने सम्भावना देखिएको स्थानीय दावा शेर्पा बताउँछन् ।
कृषि पेसामा निर्भर बुलडाँडाका शेर्पा समुदायले कृषि खेतीपातीबाटै लाखौँ आम्दानी गर्ने गरेका छन् । सिमीसँगै उनीहरुले वार्षिक एक करोड रुपैयाँ बराबरको आलु र मासिक १२ लाख रुपैयाँ बराबरको दूध उत्पादन तथा बिक्री गर्दै आएका छन् । समुद्री सतहदेखि २६ सय मिटर उचाइमा अवस्थित बुलडाँडा जिरी नगरपालिका र लिङ्कन बजारदेखि करिब सात किलोमिटरमाथि पर्ने लेकको गाउँ हो । यहाँका स्थानीय शेर्पा समुदायले उत्पादन गरेको तरकारी तथा दूध स्थानीय जिरी बजारकै होटल तथा डेरीमा खपत हुँदै आएको छ । यस्तै, आलु भने ठेकेदारमार्फत काठमाडौंमा जाने गरेको छ ।
यहाँका स्थानीयको दिनचर्या खेतीपातीमा नै बित्ने गर्छ । तर हाल गाउँ युवाविहीन बन्दा आगामी पुस्तासम्म कृषि पेशा नै धरापमा पर्न सक्ने चिन्ता यहाँका किसानहरुको छ । गाउँमा युवा नहुँदा दुईचार घरपरिवारका सदस्य मिलेर आलोपालो मेलापात गर्दै आएको स्थानीय सोनी शेर्पाले बताइन् ।