पोखरा, पोखरा बाटुलेचौरस्थित चर्चित ‘लिची बगान’ को १३४ रोपनी सरकारी जग्गा हत्याउने योजनामा संलग्न भनिएका उच्चपदस्थहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको घेरो साँघुरो बनाउँदै लगेको छ।यही प्रकरणमा अख्तियारले हालै भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान लिएको छ। पोखरेलमाथि जग्गा हत्याउने गिरोहबाट ५ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भइसकेको छ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ता, पूर्व भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र योजनाका मुख्य बिचौलिया सुजन लामासँग पनि आयोगले बयान लिइसकेको छ।मन्त्री गुप्तामाथि एमालेका जिल्ला नेता खेमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग, कास्कीको अध्यक्ष बनाउने सन्दर्भमा गिरोहसँग घुसको लेनदेन गरेको अडियोसमेत सार्वजनिक भइसकेको छ। मन्त्री क्वाटरमै भएको भनिएको उक्त ‘घुस डिल’ पछि गुप्ताले राजीनामा दिएका थिए।
यसैबीच, हालका भूमिव्यवस्था मन्त्री बलराम अधिकारीमाथि समेत ३२ लाख रुपैयाँ घुस लिएको अडियो बाहिरिएको छ। तर, अधिकारीले अहिलेसम्म कुनै पनि स्पष्ट प्रतिक्रिया नदिएका कारण उनी पदमै कायम छन्।अख्तियारमा १० असार २०८२ मा यस घोटालासम्बन्धी उजुरी परेको थियो। तर, राजनीतिक संरक्षणका कारण ढिलो अनुसन्धान अगाडि बढेको भन्दै सार्वजनिक वृत्तमा चासो बढ्दो छ। अब यो प्रकरणमा कारबाही कस-कससम्म पुग्ने हो, त्यसप्रति सबैको ध्यान केन्द्रित छ।