जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपहरू दिनप्रतिदिन बढ्दै गएको छ । जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । जलवायु परिवर्तनमा सूर्यको प्रमुख भूमिका रहेको हुन्छ । सूर्यबाट प्राप्त हुने प्रकाशका वायुमण्डलमा तापक्रममा सन्तुलन कायम रहन्छ । सूर्यबाट प्राप्त विभिन्न सौर्य विकिरण पुन अन्तरिक्षमा फिर्ता जान्छ । कुनै कारण विकिरण आवतजावतमा असन्तुलन हुन गएमा वायुमण्डलको तापक्रममा घटबढ भएर जलवायु परिवर्तन हुन पुग्छ । जलवायु परिवर्तनको असरहरू लामो समयको अन्तराल पछि देखा पर्न थाल्छन् । पछिल्ला २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइअक्साइड, तथा क्लोरोफोलोरो कार्बनजस्ता विशाक्त ग्यासको उत्सर्जन बढ्दै गइरहेको छ । हरित गृह प्रभावका कारण सूर्यका किरण पृथ्वीबाट परावर्तन भएर फर्किन रोकावट हुने गर्दछ । जसको कारणबाट पृथ्वीको तापक्रम बढ्दै गएको छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजंगल विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगीकरण आदि क्रियाकलापहरू प्रमुख रहेका छन् ।
पृथ्वीमा जलवायु परिवर्तनका कारण सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियस बढेको छ । नेपालमा मात्रै प्रत्येक वर्ष करिब ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भएको पाइन्छ । त्यस्तै सन् १९६१ र २००३का बीचमा समुद्र सतहमा प्रतिवर्ष १.८ मिलिमिटर वृद्धि भएको छ । हिमालमा हिउँ पग्लेर चट्टान देखिन थालेका छन् । उत्तरी र दक्षिणी ध्रुवमा विशाल हिम पहाडहरू पग्लिने क्रम तीव्र बन्दै गएको छ । जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक आर्थिक पर्यावरणीय र विकासका संरचनाहरूमा नकारात्मक असर पुगेको विभिन्न तथ्यांक एवं अध्ययन अनुसन्धानले पुष्टि गरेका छन् ।
जलवायु परिवर्तनको मुख्य कारण हरित गृहको रूपमा पृथ्वी परिवर्तन हुदै जानु हो । यसको लागि मुख्य जिम्मेवारको रूपमा औद्योगिक राष्ट्रहरूको गतिविधिलाई लिइन्छ । उद्योगधन्दा बाट निस्कने कार्बनडाइअक्साइडलगायतका विषालु ग्यासहरूबाट हरित गृहमा परिवर्तन गर्न प्रमुख भूमिका खेलेको हुन्छ । विकसित देशहरूको विषालु ग्यासको चपेटामा नेपालजस्ता विकासोन्मुख देशहरू परेका छन् । जलवायु परिवर्तनका असरहरू बहुआयामिक छन् ।
जलवायु परिवर्तनका असरहरूः
जलवायु परिवर्तनले प्राकृतिक जैविक विविधताको सन्तुलनलाई खलबल्याइदिएको छ । साविकको समयभन्दा अगाडि नै बिरूवाहरूमा फूल लाग्ने, चराले चाँडै अण्डा पार्ने, जीवहरूमा पनि चाँडै शारीरिक परिपक्वता आउने, झिँगा, लामखुट्टे, सर्प विक्षी आदी विषालु जीवजन्तु ठण्डा ठाउँहरूमा गएर रोगब्यादी फैलाउने क्रम बढ्दो क्रममा पाइन्छ । तापक्रमको वृद्धिसँगै झिँगा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेँगु, इन्सेफलाइटिसजस्ता सरूवा रोगको प्रकोप बढ्नुका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि बालिनाली नाश पार्ने नयाँ नयाँ झार र रोगका किटाणुको उत्पत्तिले गर्दा उत्पादनमा ह्रास आउने गरेको छ । यसरी नै वातवरणीय परिवर्तनका कारण जनावरहरूको खाद्यश्रृंखला र पारिस्थितिक प्रणालीमा समेत गम्भीर असर पर्न थालेको छ । नयाँ रोगहरूको फैलावट, कृषि उपजमा ह्रास, खानेपानीका स्रोत खोलानाला, कुवा, इनार, पोखरी, सिमसार सुक्दै जानु, चरम गर्मीका कारण मानवलगायतका जीवजन्तु तथा वनस्पतिको विकास र वृद्धिमा नकारात्मक असर पार्न थालेको अनुभव गर्न सकिन्छ ।
वर्षाको प्रकार र तापक्रममा आएको अस्वाभाविक परिवर्तनले बाढीपहिरो, भू–क्षय, हुरीबतास समुद्री आँधी आदि अप्रत्याशितरूपमा हुने क्रम तीव्र छ । मानव जीवन, सामाजिक आर्थिक विकास, पर्यटकीय विकास आदि विकासमा गम्भीर असर पर्न थालेको छ । अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, सुख्खाग्रस्त खडेरीजस्ता प्राकृतिक प्रकोप बढ्दो क्रममा छ । हालै तीब्बतमा हिमताल फुटेर टिमुरे तातोपानी नाकालगायतका आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति हुन गएको जगजाहेर नै छ । नेपालमा हिमताल र हिमनदीको प्राकृतिक अवस्थामा क्षयीकरण हुँदा विपत्हरू आउने क्रममा तीव्रता देखिन्छ । अहिले पनि मध्य मनसुनको बेलामा अप्रत्याशितरूपमा खडेरी परेर तराई पहाड जतासुकै बालिनालीलाई असर पारेको छ । मुख्य अन्नबालीको रूपमा रहेको धानको रोपाइँ नगन्यरूपमा भएको छ । अब केही समयसम्म यस्तै अवस्था रहेमा आगामी वर्ष खाद्यान्नको हाहाकार नहोला भन्न सकिन्न ।
जलवायु परिवर्तनका कारणबाट वनस्पति तथा जीवजन्तुका जीवनचक्रमा समेत प्रत्यक्ष असर पर्न थालेको छ । गुराँस चाँडै फुल्ने, स्याउ कम उचाइमा पनि फल्ने, बालिनालीको उर्वर शक्तिमा ह्रास, लामखुट्टे, गोमन साप हिमाली भेगमा पनि पाइनु, अर्थात् जीवजन्तु र बोटबिरूवाको पारिस्थितिक प्रणालीमा नै अस्वाभाविक परिवर्तन आएको देखिन्छ । जलवायु परिवर्तनकै कारण कतिपय वनस्पति र जीवजन्तुहरू लोप हुने क्रममा छन् । यसप्रकारको अप्रत्यासित परिवर्तनलाई मानवलगायत सम्पूर्ण जीवजन्तु र वनस्पतिका अस्तित्वका लागि शुभ संकेत मान्न सकिन्न ।
सुधारका उपायः
जलवायु परिवर्तनका कारणले संसारभर बहुआयामिक असर परेको छ । सन् २००७को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्यांकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको निष्कर्ष निकालेको थियो । यसको असर विभिन्न देशहरूमा प्राकृतिक प्रकोप श्रृंखलाबद्धरूपमा देखा पर्ने गरेका छन् । हरितगृह ग्यासको अनुपात यही दरमा बढ्दै गएमा निकट भविष्यमा नै थप भयावह स्थितिको सामना गर्नु नपर्ला भन्न सकिन्न ।
नेपालमा पनि प्रतिवर्ष तापक्रमको वृद्धि दर ०.०४ डिग्री सेल्सियस रहेको छ । हिमालका हिमरेखाहरू थप उचाइतिर सर्दै गएको छन् । हिमतालहरू फुट्ने जोखिम पनि उत्तिकै छ । नेपालमा २० वटा जति कुनै पनि बेला फुट्न सक्ने हिमतालहरू रहेको विभिन्न अध्ययन र तथ्यांकले पुष्टि गरेका छन् । हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी करिब ०.०२५ प्रतिशत रहेको छ । विकसित देशहरूका तुलनामा नेपालले हरितगृह ग्यास नगन्य मात्रामा उत्पादन गर्दै अएको छ । कार्बनडाइअक्साइडलगायतका हरितगृह ग्यासको उत्सर्जन नियन्त्रण गर्न वनजंगलको अहम् भूमिका रहन्छ । त्यसकारण वनजंगलको समरक्षण र बृक्षारोपणलाई उच्च प्राथमिकता दिनु दूरदर्शिता ठहर्छ । हिमश्रृंखला, महाभारत तथा चुरेपहाडको क्षयीकरण रोक्न सार्थक अभियानहरू चलाउन विलम्ब गरिनु हुन्न, उद्योगधन्दाहरूबाट कम कार्बन उत्सर्नको सुनिश्चितता गरिनु पर्छ, कार्बनरहित वैकल्पिक ऊर्जाहरू जस्तै जलविद्युत्, सौर्य, हावा, बायोग्यास आदिको प्रयोगलाई उच्च प्राथमिकता दिइनुपर्छ । विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा जलवायु परिवर्तनको कारण र निराकरणको बारेमा प्राथमिकताका साथ समावेश गरिनु पर्छ । जलवायु परिवर्तनमा सुधार ल्याउन प्रत्येक व्यक्ति, स्थानीय, राष्ट्रिय, अन्तराष्ट्र्रिय, संघसंस्था तथा सरकारको साझा प्रयासको खाँचो रहन्छ ।