काठमाडौं । जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जिवी पौडेल पक्राउ परेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलाराम अधिकारीलाई मालपोत प्रमुख बन्न ७० लाख घुस बुझाएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निवासबाटै पक्राउ गरि टंगाल ल्याएको हो ।
जिल्ला मालपोत कार्यालय कास्कीका सुब्बा दीपक सुवेदीले पौडेललाई कास्कीको मालपोत कार्यालयको हाकिम बनाउँदा ७० लाख रुपैयाँ तिरेको भन्दै दाबी गरेको अडियो आर्थिक दैनिकले सार्वजनिक गरेको थियो । अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरि जाँड खुवाएर आफूविरुद्ध बोल्न लगाएको भन्दै उक्त अडियोको स्वामित्व लिएका थिए ।
‘जाँड खाएको मान्छेलाई तैँले भन् कि भन्, पायो कि पाएन, मैले यस्तो पठाएको छु भन्ने समेत कुरा गरिदिएको छ,’ पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भनेका थिए,‘यो विशुद्ध चरित्र हत्या गर्ने प्रयास हो ।’
सार्वजनिक भएको रेकर्डमा मन्त्री अधिकारीको नाम थिएन । तर, उनले आफ्नो लागि नै उक्त अडियो रेकर्ड गरिएको भन्दै सार्वजनिक रुपमै यो घटनाको स्वामित्व लिएका थिए । ७० लाख घुस खुवाएर कास्की मालपोतको प्रमुख बन्न सफल भएका विवादित उपसचिव पौडेल लामो समयदेखि फरार थिए । उनलाई अख्तियारको टोलीले निकै समय खोजी गर्नु पुगेको थियो ।
मालपोत कार्यालय कास्कीका अधिकृत शोभाखर पोख्रेलका अनुसार प्रमुख मालपोत अधिकृत पौडेल बिगत लामो समयदेखि बिदा लिएर बसेका थिए । अडियो प्रकरण आएपछि उनी सबैको सम्पर्कबाट भागेका थिए । उनको मोबाइल विगत २ हप्तादेखि ‘स्विच्डअफ’ छ । तालुकदार निकाय मालपोत विभागले पनि उनी सम्पर्कमा नरहेको बताएको छ ।
तालुकदार निकाय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रशासन प्रमुख मदन कोइरालाले पौडेल सम्पर्कमा नरहेको बताए । कर्मचारी नियमावली विपरित पौडेलको सरुवा तथा पदस्थापनामा मुख्य भूमिका निभाएका र ७० लाख घुस प्रकरणमा समेत मुछिएका कोइराला पर्वतस्थित पौडेलको घरसम्म पुगेको खुलेको छ ।
यद्धपी उनले यो आरोप अस्विकार गरेका छन् । स्रोतका अनुसार भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नै पौडेललाई गुपचुप राखेका थिए । तर, अख्तियारको टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।
मन्त्रालयका सचिव केदारनाथ शर्माले पौडेललाई आइतबार नै अख्तियारले नियन्त्रणमा लिएको बताए । पौडेलसँग मन्त्रालयका अधिकारीहरुको पनि गहिरो हिमचिम छ । प्रमुख मालपोत अधिकृत पौडेलले घुस प्रकरण सार्वजनिक भएपछि अधिकांश मिडियालाई फोन गरेर विषयन्तर गरि झूटो खबर फैलाएका थिए ।
पोखरास्थित बाटुलेचौरको १३५ रोपनी जग्गा मध्ये ६० रोपनी जग्गाका हकवालासँग सम्बन्धित पीडितकै टिकटमा काठमाडौं र पोखरा आउजाउ गरेका पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बयानका लागि खोजी गरेको थियो । तर, उनी सम्पर्कमा आएका थिएनन् ।
कास्कीको पोखरा महानगरपालिका १६ स्थित बाटुलेचौरस्थित १३५ रोपनी जग्गा मध्ये करिब ६० रोपनी जग्गा पीडित दुर्गादेवि शाहको नाममा हक कायम गरिदिन तत्कालिन तीनै तहको अदालतले फैसला गरेको थियो ।
सोही फैसला कार्यान्वयनका लागि पीडित परिवारले मित नाता पर्ने सुजन लामा मार्फत काम अघि बढाएका थिए । लामाले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालय कास्की हुँदै सिंहदरबारका शक्तिशाली मन्त्रीहरुसम्मलाई घुस बुझाएको अडियो सार्वजनिक भएको थियो । अडियोमा दाबी गरिए अनुसार तत्कालिन मालपोत कार्यालय कास्कीको प्रमुखलाई थमौतीका लागि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ५३ लाख, भूमि सुधार मन्त्री बलाराम अधिकारीले ३२ लाख, तत्कालिन भूमि सुधार सचिव अर्जुन पोख्रेलले ५ लाख रुपैयाँ, वन कुखुरा र अरिगांल समेत घुस लिएका थिए ।
त्यस्तै १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीले नै कारबाही गरिसकेको छ । यो प्रकरणमा मुछिएका तत्कालिन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएका छन् । उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रञ्जिता श्रेष्ठको मोबाइलपनि नियन्त्रणमा लिएर अनुसन्धान जारी छ । पूर्वसचिव अर्जुन पोखरेलको पनि बयान चलिरहेको छ । जग्गाका पीडित पक्षसँग अख्तियारले साक्षी बनाउने प्रयोजनका लागि बयान लिइरहेको छ ।
अख्तियारमा जाहेरवाला मोक्तानको सनाखत
बहालवाला संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कास्की जिल्ला स्थित तत्कालिन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिन्छु भनि घरजग्गा व्यवसायीसंग ५३ लाख रुपैया घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत असार १० गते उजुरी दर्ता गर्ने उर्लाबारी ७ राजघाट मोरङका युद्धराज मोक्तानको अख्तियारमा सनाखत गरिएको छ ।
मोक्तानले असार १० गते उजुरी दर्ता गरेपछि बहालवाला मन्त्री गुप्ताले घुस खाएको समाचार असार ११ गते पहिलो पटक आर्थिक दैनिकले अडियो रेकर्ड सहित सार्वजनिक गरेको थियो । घुस खाएको समाचार असार ११ गते आर्थिक दैनिकमा सार्वजनिक भएपछि विवादमा आएका तत्कालिन मन्त्री गुप्ताले केही दिन पछि राजिनामा दिएका थिए । मन्त्रीको राजिनामा संगसंगै अनुसन्धानलाई तिब्रता दिएको अख्तियारले घुस खाएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्ने मोक्तानको सनाखत गरेको हो ।