काठमाडौ । मावलिङ हाइड्रोपावर कम्पनीले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले हाल कायम रहेको जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रूपैयाँमध्येबाट ४८ दशमलव ९९ प्रतिशतका दरले हुनआउने एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको १८ करोड ९० लाख ५३ हजार रूपैंयाँबराबरको १८ लाख ९० हजार पाँच सय ३० कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याएको हो ।
सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनता र बैदेशिक रोजगार प्रभावितहरूको लागि सेयर बिक्री गरेपश्चात् कम्पनीले सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड ४८ लाख ९० हजार चार सय रूपैयाँबराबरको १२ लाख ४८ हजार नौ सय चार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल अर्थात् एलएस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही साउन २६ गतेबाट सुरु भई छिटोमा साउन २९ गते र ढिलोमा भदौ नौ गते बिक्री कार्य बन्द हुनेछ । लगानीकर्ताहरूले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।