काठमाडौं, तार्केश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुलदीप चन्दका अनुसार पक्राउ परेका सबैजनालाई काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने खोलाको करिडोर निर्माणका क्रममा भएको झडपसँग जोडिएको आरोपमा नियन्त्रणमा लिइएको हो। शहरी विकास प्राधिकरणले उक्त क्षेत्रमा करिडोर निर्माणका लागि टेन्डर आह्वान गरी ठेकेदारमार्फत काम सुरु गराएको थियो। तर सीमाना अस्पष्ट भएको भन्दै दुई पालिकाबीच विवाद चर्किएको थियो।गत २३ असारमा निर्माणस्थलमा विवाद चर्किएर झडप भएको थियो, जसमा एक व्यक्तिको टाउकोमा चोट समेत लागेको थियो। चोट लागेका व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए। उजुरीको आधारमा सरकारी वकिल कार्यालयले दिएको जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी चन्दले जानकारी दिए।उनका अनुसार १३ जनाविरुद्ध उजुरी परेको भए पनि दुई जनाको ठेगाना नखुलेको कारण उनीहरूलाई पक्राउ गर्न नसकिएको हो। बाँकी ११ जनालाई भने नियन्त्रणमा लिइएको छ। अहिलेसम्म पक्राउ परेकाहरूको बयान लिने काम भइरहेको र घटनामा संलग्नताको प्रकृति अनुसार थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। स्थानीय सीमाना विवादले प्रशासनिक र भौतिक पूर्वाधार विकासमा अवरोध आउने स्थिति सिर्जना भएको भन्दै स्थानीय तहमा समन्वयको माग बढेको छ।