हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँले सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्री पदको दाबी प्रस्तुत गरेका थिए।
तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनापछि रिक्त भएको पदका लागि नेकपा एमालेका नेता जगन्नाथ थपलियाले पनि दाबी पेश गरेका थिए। तर, बहुमत समर्थन प्राप्त गर्दै बानियाँ नियुक्त भएका हुन्।प्रदेश प्रमुख कार्यालयले जानकारी दिएअनुसार बानियाँको शपथग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ। शपथपछि उनले मन्त्रीपरिषद् विस्तारको प्रक्रिया सुरु गर्ने तयारी गरेका छन्।
यो नियुक्ति सत्ता साझेदारी अन्तर्गत भएको हो। नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा भएको सहमति अनुसार बागमती प्रदेशमा दुबै दलले सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो।उक्त सहमति अनुसार कांग्रेसले पहिलो २० महिनाको कार्यकाल नेतृत्व गर्नेछ, जसमा बहादुर सिंह लामाले १२ महिना कार्यभार सम्हालिसकेका छन्। बाँकी ८ महिना इन्द्रबहादुर बानियाँको नेतृत्व रहनेछ। त्यसपछिको कार्यकाल एमालेको नेतृत्वमा रहनेछ। बानियाँको नियुक्तिसँगै बागमतीको सत्ता सन्तुलन नयाँ मोडमा प्रवेश गरेको छ। अबको केही दिनभित्र नै मन्त्रिमण्डलको स्वरूप र प्रदेश सरकारको नीति प्राथमिकता स्पष्ट हुने अपेक्षा गरिएको छ।