काठमाडौं । सेग्वे–नाइनबोटका नेपालका लागि अधिकृत वितरक आई हब प्रालिले नेपालमा चार नयाँ मोडेल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवसरमा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको हो । राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि सुरु हुने एक्स्पो आइतबारसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, यसमा सेग्वेको नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार, यसपटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कुटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् । यी मोडेलहरू सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुई वटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, यसले अधिकतम ९० किमि/घण्टा गति लिन सक्छ र ७५ देखि एक सय २० किमिसम्म यात्रा गर्न सक्छ । ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट÷घण्टा ब्याट्री रहेको छ, जसले ७० किमि/घण्टासम्मको गति लिन सक्छ र ६० देखि एक सय किमिसम्मको दायरा दिनेछ ।
यस्तै, ‘सेग्वे जाइबर ई–बाइक’ मा तीन हजार वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ किमि/घण्टा गति लिन सक्ने र ७७ किमिसम्म चल्न सक्ने जनाइएको छ । यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ । ‘सेग्वे जाफारी ई–साइकल’ मा सात सय ५० वाट मोटर, नौ सय ३६ वाट–घण्टा ब्याट्री रहेको छ, यसले अधिकतम ३२ किमि/घण्टा गति लिने र ५८ किमिसम्म चल्ने जनाइएको छ । साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
यी चार मोडेल लञ्च भएसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ । सेग्वेका यी नयाँ मोडेलको मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिकरूपमा सार्वजनिक गरिने जनाइएको छ ।