विराटनगर । मोरङ उद्योग व्यापार संघको ऊर्जा समितिले सुुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगमा कार्यरत प्राविधिकलाई तालिम दिएको छ ।
समितिले एक हप्ते तालिम दिएको संघले जानकारी दिएको छ । गत असार १४ गते देखि २० गतेसम्म सञ्चालित तालिममा सुुनसरी मोरङ औद्योगिक कोरिडोरका विभिन्न उद्योगमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियनहरु सहभागी थिए । उनीहरुलाई आधुनिक औद्योगिक विद्युत् प्रणाली, विद्युत् सुरक्षाका उपाय र ऊर्जा दक्षतासम्बन्धी विषयमा सैद्धान्तिक र व्यावहारिक सीपको प्रशिक्षण गराइएको संघले जानकारी दिएको छ । संघले उद्योग/व्यवसाय क्षेत्रको विकास तथा आधुनिकीकरणका निम्ति आवश्यक पर्ने विषयमा तालिम एवं अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
संघका महासचिव सञ्जय कुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरु अब उद्योगका लागि लाभदायक रहेको बताए । प्रशिक्षार्थीहरुले ती सीपहरु आफू कार्यरत रहेको उद्योगमा कार्यान्वयनमा ल्याई विद्युत्सम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु दिन सक्नुुपर्नेमा जोड दिए । संघको ऊर्जा समितिका संयोजक सुशील सुरानाले आगामी दिनमा पनि यस प्रकारका प्रयोगात्मक एवं उपयोगी तालिमहरु सञ्चालन गरिने बताए ।
तालिमका सहभागी एवं प्रशिक्षार्थी एसियन बिस्कुट एन्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलराम कुमार साहले आफूले तालिमबाट प्राप्त गरेका सीपहरु उद्योगको विद्युत् व्यवस्थापनका लागि अत्यन्त उपयोगी हुने बताए । आगामी दिनमा संघबाट सञ्चालन गरिने यस प्रकारका तालिममा आफू सहभागी हुन उत्साहित भएको उनको भनाइ थियो ।