दोलखा । स्थानीय तहका जनप्रतिनिधिहरु सेवाग्राही खोज्न राजधानी केन्द्रित भएका छन् । गाउँघर छाडेर राजधानीमा बसोबास गर्दै आएका नागरिकलाई वडाको सेवा लिएर वैतेश्वरका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी अहिले राजधानीमा पुगेका हुन् ।
वैतेश्वर गाउँपालिकामा रहेका ८ वटै वडाहरुले चालू वर्षको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणका लागि काठमाडौंमा घुम्ती शिविर चलाएर सेवा दिइरहेका छन् । पालिकाको वडा नम्बर–८ क्षेत्रपाले गत शुक्रबार र शनिवार काठमाडौंको जडिबुटीमा भत्ताकार्डको नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो । वडामा आउन नसक्ने तथा काठमाडौं बसोबास गरिरहेका ४३ जना नागरिकलाई सेवा दिएको वडाध्यक्ष शान्त बहादुर जिरेलले बताए । त्यसैगरी, सोही पालिकाको वडा नम्बर–४ काब्रेले पनि मंगलबार र बुधबार घुम्ती शिविर राखेर ७० जना ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिहरुको भत्ताकार्ड नवीकरण गरेको छ । वडाध्यक्ष कुमार चौलागाईंले वडाबाट जनप्रतिनिधि तथा कर्मचारी गएर दुई दिन शिविर आयोजना गरी कार्ड नवीकरण गरिएको जानकारी दिए ।
वैतेश्वरका अन्य वडाहरुले पनि गाउँ छाडेर राजधानी बसोबास गर्दै आएका नागरिकलाई राजधानीमै पुगेर सेवा दिने जनाएका छन् । यसअन्तर्गत वडा नम्बर–३ ले यही साउन २३ र २४ गते कोटेश्वरमा शिविर राख्ने भएको छ । वडाले वडा नम्बर–३ मिर्गे स्थानीय ठेगाना भएका ज्येष्ठ नागरिक, दलित, एक महिला तथा अपाङ्गता भएका नागरिकहरुको दुई दिन शिविर राखेर सेवा दिन लागेको वडाध्यक्ष कमल अधिकारीले बताए । त्यसैगरी, वडा नम्बर–२ ले पनि यही साउन अन्तिममा काठमाडौं बसोबास गर्ने नागरिकको भत्ताकार्ड नवीकरण गर्ने जानकारी दिएको छ ।
हाल वडामा बसोबास गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका नागरिकहरुको कार्ड नवीकरणको काम भइरहेको र वडाको सकेर काठमाडौंमा शिविर आयोजना गर्ने वडाध्यक्ष श्याम कुमार घिसिङ तामाङले बताए ।
त्यसैगरी, वडा नम्बर ५ र ८ ले पनि आउँदो भदौ ८/९ गते काठमाडौं शिविर सञ्चालन गर्ने जनाएका छन् भने वडा नम्बर–१ गैरीमुदीले पनि भदौ ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको जडिबुटीमा घुम्ती शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्ने जनाएको छ । वडा नम्बर–६ नाम्दुले पनि वडाको नवीकरण सकेर काठमाडौं बसोबास गर्दै आएकाहरुलाई भदौमा त्यहीँ पुगेर सेवा दिने वडाध्यक्ष अशोक तामाङले जानकारी दिए ।