काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडसीप एक्सिलेन्स अवार्ड २०२५’ भव्यतापूर्वक सम्पन्न भएको छ । साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष: लिड, रोअर, रिपिट’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले आव २०८१/८२मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई तथा धन्यवाद प्रकट गरे । कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरू तथा कर्मचारीहरूलाई धन्यवादज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरूलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालू आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८२/८३मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८१/८२को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्नै सम्पूर्ण अभिकर्ता, सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरूलाई धन्यवादज्ञापन गरे । कम्पनीले गत वर्ष आफूलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको, सोले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताए ।
उक्त विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवादज्ञापन गरे । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवादज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सीप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । ३ दिनसम्म चलेको कार्यक्रममा मोटिभेसनल स्पिकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो ।