काठमाडौं । सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नजिक पुगेको हो । शुक्रबार प्रतितोला सुनको कारोबार एक लाख ९९ हजार चार सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ । यसदिन चाँदी दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
साउन महिनामा सुनको मूल्य आकाशिएको हो । बुधबार र बिहीबार पनि सुन प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि मंगलबार (२० गते) एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार साउन १६ गते एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भएपछि लगातार सुनको मूल्यवृद्धि देखिएको थियो । त्यसपछिको कारोबार भएको दिन १८ गते एक लाख ९६ हजार पाँच सय, १९ गते एक लाख ९६ हजार छ सय तथा २० गते एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
साउन महिनामा लगातार वृद्धि हुने क्रममा ६ गते एक लाख ९५ हजार पाँच सयपछि ७ गते एक लाख ९७ हजार छ सय पुगेपछि भने केही कम भएर कारोबार भइरहेको थियो । शुक्रबार भएको कारोबार हालसम्मकै उच्च मूल्य हो । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन शुक्रबार ३३ सय ९४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि गत मार्च महिनायता सुनको मूल्य निरन्तर उकालो लागिरहेको काउन्सिलको तथ्यांकले देखाएको छ ।
सन् २०२५ को फेब्रुअरी महिनामा सु्न प्रतिऔँस २८ सय ९५ अमेरिकी डलरमा कारोबार भएको थियो । तर फेब्रअुरीकै २८ तारिखमा २८ सय ३४ मा झरेको सुन मार्च ३ मा २८ सय ८० डलर पुग्यो । मार्च १८ मा ३०१८ डलर पुगेको सुन अप्रिल २२ मा ३४ सय ३३ अमेरिकी डलरको उच्च विन्दुमा पुगेको थियो । त्यसपछि जुन १२ मा ३३ सय ९१ र जुलाई २२ मा ३४ सय ९ डलर प्रतिऔँसमा कारोबार भएको थियो । त्यसपछि शुक्रबार ३३ सय ९४ डलरमा कारोबार भएको काउन्सिलले उल्लेख गरेको छ ।
सुनको मूल्यवृद्धिमा विविध कारण जोडिन्छन्। नेपालको हकमा सुनको मूल्य निर्धारण नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्छ। यसमा पहिलो पक्ष अन्तर्राष्ट्रिय मूल्य हो भने भन्सार दर, बैंकको लागत, विदेशी मुद्राको मूल्य, व्यवसायीको नाफाजस्ता अन्य पक्षहरू जोडिन्छन् ।
विश्वबजारमै अहिले सुनको मूल्य बढिरहेकोले नेपालमा त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । सन् २०२३ को अन्तिमदेखि यता विश्वबजारमा सुनको मूल्य आकाशिँदो छ ।
विश्वमा सुनको मूल्य घटबढमा विश्वव्यापी माग, लगानी, उत्पादन, केन्द्रीय बैंकहरूको सञ्चिति र अमेरिकी डलरको मूल्यले योगदान गरिरहेका हुन्छन्। खासगरी कोभिड महामारीपछि महंगी र डलरको मूल्यले सुनको मूल्यमा प्रभाव पार्दै आएको छ ।