संसारभरिका विश्वविद्यालयहरूमा राजनीतिशास्त्रको दल (पार्टीहरू) अध्यायमा पढाइने पहिलो पाठ्यक्रम (कखग) हो, ‘प्राण गएको मानिस र विचार हराएको पार्टी (दल) एउटै हो– लास ।’ लासको प्रकृति समयमै अन्त्येष्टि भएन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्दछ । हो आज हाम्रो मुलुकमा यही भइरहेको छ । विचार हराएका दलहरू खासगरी कांग्रेस, एमाले, राप्रपा, माओवादी कुहिएर, गनाएर रोग फैलाउने चरणमा पुगेका कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका छन् । कोरोनाले त जसलाई भेट्यो त्यसको मात्र ज्यान लिन्थ्यो । यिनीहरूले त राष्ट्रलाई (आम नेपालीजन) नै आईसीयूमा घिटीघिटी अवस्थामा पुर्याएका छन् । आग्रह पूर्वाग्रह नराखी ब्रह्म (पशुपतिनाथ)लाई साक्षी राखेर भन्नुपर्दा माथि उल्लिखित पार्टीहरूमा सबैभन्दा बढी घातक (अपराधी) नेपाली कांग्रेस भन्ने आम नवजागरणमा छर्लङ्ग भइसकेको छ । सुवर्ण, विपी, गणेशमान, कृष्णप्रसाद, निधी, सिकेपछि आजसम्म सत्तामा पुगेर लुटतन्त्र मनपरीतन्त्र मच्चाइरहेका (देश बेच्ने मानिस बेच्ने) प्राधिकार कांग्रेस नेतृत्वलाई कसैले ‘प्रजातान्त्रिक पार्टी’को संज्ञा दिइरहेका छन् भने ती विदेशी दलाल (एजेन्ट) या तस्कर, माफिया, घुसखोर (बीपीका कान्छा छोरासमेत घुस्याहा भनेर सामाजिक सन्जालमा भाइरल) भ्रष्टाचारी, कालोबजारियाका विचौलिया, भरिया या कथित ठालु नेताका दास कमाराकमारी मात्र हुन् । यसै कारण मैले जुन दिन कांग्रेस सभापतिका हैसियतले शेरबहादुर देउवाले चुनावी आमसभाको मञ्चमा उभिएर चुनाव चिह्न ‘रुख’मा भोट (मत) माग्नुको साटो ‘हसियाँ हथौडा’मा मतदान गर्न भाषण गरेका थिए, त्यसै साताको यसै स्तम्भमा (गुगलमा गएर हेर्न सक्नुहुन्छ) लेखेको थिएँ– ‘कांग्रेसका आठ लाख भनिएका क्रियाशील सदस्यलगायत महाधिवेशन महासमिति सदस्यको अस्तित्व महासंकटमा ।’
नेपाली कांग्रेस विचारधाराको कुरो गर्दा विद्यमान (हालको) राजनीतिक जागरणका हिसाबले जननायक बीपी कोइरालाबाटै पाठ्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद बीपी विचारका मूल खम्बा हुन् । ओदानका तीन खुट्टा भनेजस्तै । एउटा खुट्टाको अभावमा बाँकी दुईटाको औचित्य निरर्थक हुन्छ । राष्ट्रियताविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको समाजवादले रुसको स्टालिन (सर्वसत्तावाद) या इटलीका मुसोलिनी (फाँसीवाद) जन्मिन्छन् भन्ने बीपी विचारको अटल ठहर हो ।
बीपीले नेपाली राष्ट्रियताको मूल खम्बा राजसंस्थालाई देखेर नै राजाले आठ वर्ष जेल र आठ वर्ष निर्वासनमा धकेल्दा समेत ‘राजा र मेरो गर्दन एकठाउँमा’ भन्नुभएको थियो । कालक्रममा नेपाली महासमिति बैठकले भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा गणतन्त्रमा जाने निर्णय गर्दा त्यो निर्णय सुनाउने रामचन्द्र पौडेल (हालका राष्ट्रपति)लाई धारेहात लगाएर श्राप दिँदै तत्काल कांग्रेस परित्याग गर्नुभएको थियो । नभन्दै रामचन्द्रेलाई किसुनजीको त्यो श्राप सात पुस्तासम्म नमेटिने गरी लाग्यो पनि । राष्ट्रपति भएर किर्ते हस्ताक्षर मुद्दा (४० लाख भारतीयलाई नेपाली नागरिकता) अदालतमा दर्ता हुनु भनेको सात पुस्ताभन्दा बढीलाई पिरोलिइरहने श्रापित कलङ्कै हो ।
प्रजातन्त्र प्रणालीका बारेमा बीपीको एक पटक होइन अनगिन्ती पटक एउटै लेखन र भाषणमा पनि दोहोर्याई तेहर्याई के अटल ठहर हो भने– ‘जबसम्म भारतमा अभ्यासरत संसदीय प्रणालीको यान्त्रिक अनुशरणबाट माथि उठेर नयाँ अभ्यास (पृथ्वीपथ) गरिँदैन तबसम्म नेपालको विकास र उन्नति कुनै पनि हालतमा सम्भव हुन्न ।’
जहाँसम्म समाजवादको कुरो छ, कुनै पनि प्रणाली होस् चीन, भारत, रुस, अमेरिका, युरोपियन, युनियन जहाँसुकैको राज्यसत्ता होस् जबसम्म गाँस, बास, कपासको आत्मनिर्भरता र शिक्षा स्वास्थ्य निःशुल्क हुन्न (भुटानमा छ) तबसम्म समाजवाद भन्न मिल्दैन ।
कांग्रेसको इतिहासमा बीपी साँच्चै नै एक दूरदर्शी राजनेता हुनुहुन्थ्यो । कांग्रेसबारे आजभन्दा ५३ वर्षअघि बीपीले गर्नुभएको विश्लेषण (भविष्य दृष्टि) अहिले आएर अक्षरंश चरितार्थ भएको छर्लङ्ग हुन्छ । बीपीले भन्नुभएको थियो– ‘जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको अडान छोड्छ, यसको औचित्य रहँदैन र जुन दिन प्रजातन्त्रको मूल्य मान्यता आदर्श छोड्छ समाप्त भएर जान्छ ।’ नभन्दै राजा वीरेन्द्रले ‘महाकाली सन्धिमा हस्ताक्षर नगर, त्यो राष्ट्रघाती छ’ भन्दाभन्दै शेरबहादुर देउवाले दिल्ली पुगेर हस्ताक्षर गरेयता सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुन थालेपछि एकप्रकारले औचित्य निरर्थक हुँदै गयो । जसको टाउकोको मूल्य तोकिएको थियो त्यसैको चुनाव चिह्नमा भोट माग्न थालेपछि पनि जीवन्तताको दावी गर्नु कवीलायी चेतनाले मात्र पत्याउने होला ।
कांग्रेसको वर्तमान समाप्ति हालतलाई लिएर बीपीले बेलैमा प्रस्ट चेतावनी दिनुभएको थियो । ‘यदि नेपाली कांग्रेस सत्तामा पुगेर देशको आवश्यकता र जनताको भावना कुल्चेर केवल सत्ताको लुछाचुँडीमा मात्र (सत्ता प्राप्ति र सम्पत्ति आर्जन) केन्द्रित भयो भने चीनको ‘कोमिन्ताङ’ पार्टीजस्तै इतिहासको कुन कन्टेनरमा थन्किनेछ ? कसैलाई पत्तो हुनेछैन’ । कांग्रेसबारे बीपीको यो कथन (भविष्य दृष्टि)को तात्पर्य छर्लङ्ग हुन अलिकति ‘कोमिन्ताङ’ पार्टीको इतिहास गुगलमा गएर सर्च गर्नुपर्ने हुन्छ ।
नेपाली कांग्रेसका नेता बीपी कोइराला हुनुभएजस्तै कोमिन्ताङ पार्टीका नेता सनयातसेन हुनुहुन्थ्यो । जो चिनियाँ गणतन्त्रका पिता हुनुहुन्छ । यो बीपी नेपाली राजनीतिमा अवतरण हुनुभन्दा चार दशक (३८ वर्ष) अघिको अध्याय हो । सनयातसेनको मूलनीति ‘राष्ट्रियता, प्रजातन्त्र र जनजिविका’ थियो जसलाई ‘तीनखम्बे नीति’ (ओदान) भनिन्थ्यो । बीपीले ‘जनजीविका’का ठाउँमा ‘समाजवाद’ राखेर सनयातसेनका ती ‘तीनखम्बे नीति’लाई नै आफ्नो सिद्धान्त विचारधाराको जग बनाउनुभएको स्वयम् उहाँले नै स्वीकार्नुभएको छ । त्यसै कारण पनि एक पटक होइन अनेक पटक उहाँले साथीहरू र कार्यकर्ताहरूलाई सम्बोधन गर्दा ‘चीनको कोमिन्ताङ पार्टीबाट शिक्षा लिन’ पठ्यक्रम दिनुहुन्थ्यो । ‘त्यत्रो ठूलो चिनियाँ सम्राज्यको राज्यसत्तालाई कान्छीऔँलाको टुप्पोमा नचाएको कोमिन्ताङ पार्टी आज कहाँ हराएर गयो ?’ हामीलाई सावधान गर्ने यस्ता हुन्थे बीपीका तर्क ।
सनयातसेनको मृत्युपछि च्याङकाइसेकको कमान्डमा कोमिनताङको बागडोर आइपुग्यो । हामीकहाँ गणेशमान र भट्टराईलाई लखेटेपछि कांग्रेसको बागडोर गिरिजाको कमान्डमा आइपुगेजस्तै । गिरिजाको अर्थनीति हेर्ने डा. रामशरण महत भएजस्तै च्याङकाइसेकको अर्थमन्त्री समिर अमिन भन्ने थियो । हामीकहाँ रामशरण महतले अर्थतन्त्रलाई पूर्णरूपमा विदेशी दलालहरू बहुराष्ट्रिय कम्पनीको चङ्गुलमा पुर्याएजस्तै समिर अमिनले पनि चिनियाँ अर्थनीतिलाई पूर्णरूपमा पश्चिमा चङ्गुलमा पुर्याइदियो । त्यसपछिको हामीकहाँको प्रजातन्त्रमा गिरिजाको हालीमुहाली पछि नातावाद कृपावादको लुटतन्त्र मनपरितन्त्र सीमा नाघेर प्रचण्डको उदय भएजस्तो माओत्सेतुङको उदय भयो । हामीकहाँ प्रचण्ड भारत (रअ) प्रायोजित भएकाले छिट्टै नाङ्गिएर सकिए । तर माओत्सेतुङ चिनियाँ जनताको आकांक्षा र आवश्यकताले जन्मेका हुनाले आज चीन कहाँ पुगेको छ ? सारा विश्वले देखिरहेकै छ ।
गिरिजाले बोकाएको ‘बम’का कारण फाँसी या जन्मकैद हुने राजकाज मुद्दामा १९ वर्षको उमेरमा जेल परेर ७ वर्ष कारावास जीवन झेल्नु परेको र कांग्रेस अफिसमा गणेशमान कृष्णप्रसाद भट्टराईका अगाडि शैलजा आचार्यसँग चप्पल हानाहान भएको घटनाको पृष्ठभूमिले आर्यघाटमा शैलजा र गिरिजाको दाह संस्कार हुँदा मलाई पत्रकारहरूको प्रश्नको उत्तर दिनुपरेको थियो । शैलजाको दाह संस्कारमा कांग्रेसको हालत के छ ? भन्ने प्रश्न गरिएको थियो । गिरिजाकी छोरी सुजातालाई नेतृत्वमा ल्याउने उद्देश्यले शैलजालाई मन्द विष प्रयोग गरेर अत्यन्त हृदयविदारक अवस्थामा वर्षौँ ओछ्यानमा तड्पाएर कोमाको हालतमा उनको देहावसान भएको भन्ने समाचार तत्कालीन छापा इलेक्ट्रोनिक मिडियामा भाइरल थियो । गुगलमा गएर सर्च गर्दा सबै तथ्य उपलब्ध छन् । त्यसमा मैले जवाफ दिएको थिएँ, ‘शैलजाको हालत हेर्नुहोस्, कांग्रेसको हालत छर्लङ्ग भइहाल्छ ।’ शैलजा मन्त्री उपप्रधानमन्त्री हुँदा ‘भ्रष्टाचारको जालो तोड्न सकिनँ’ भनेर गिरिजालाई औंला गड्याउदै मन्त्री पद त्यागेको कारण किनारामा धकेलेर कोमामा पुर्याएकी थिइन् । जहाँसम्म उनको र मेरो चप्पल हानाहानको कुरो छ, ‘फेरि यस्तो नहोस्’ भन्ने मेरो तीन सय पृष्ठको पुस्तकमा सबै आइसकेको हुनाले यस्ता स्तम्भ लेखनमा विवरण ल्याउन सम्भव हुन्न ।
गिरिजाको दाहसंस्कार हुँदा मलाई पत्रकारहरूको प्रश्न थियो– ‘गिरिजाको अवसानपछि कांग्रेसको भविश्य कस्तो देख्नुहुन्छ ?’ त्यसमा मेरो उत्तर थियो– ‘हेर्नुहोस् मानिस मरेपछि जुम्राहरू लास छोडेर ज्यान जोगाउँछन् भने लिखाहरू लाससँगै खरानी हुन्छन् । गिरिजाको लाससँगै कति लिखाहरू खरानी भए र कति कति जुम्राहरू बाँचेका छन्, त्यसको यथार्थ तथ्य सामुन्ने नआई अहिले नै केही भन्न सक्ने अवस्थामा म छैन ।’
तर आज गिरिजा अवसानको १७ वर्षपछि भने सबै जुम्राहरूको तथ्य मेरा अगाडि छर्लङ्ग भइसकेको छ । आम जनजागरण (मतदाता)लाई कति थाहा छ– जुम्राको मृत्यु रगत चुस्ताचुस्तै अघाएको थाहा नपाएर भुँडी फुटेर हुन्छ । हो, त्यस्तै गिरिजाको अवसानपछि राज्यसत्ताको हालीमुहालीमा पुगेका कांग्रेसीहरूको पनि नेपाल बेचेर (महाकाली सन्धि), नेपाली जनता बेचेर (भुटानी शरणार्थीदेखि भिजिट भिसासम्म), नेपाल आमाको रगत चुस्ताचुस्तै अघाएको थाहा नपाएर भुँडी फुटेर मृत्यु (अन्त्य) भइरहेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एक सार्वजनिक समारोहमा भनेकी छिन्, ‘अब यिनीहरूले नेपाली जनताका छाला काढेर सुकाएर बेच्न मात्र बाँकी छ ।’ राजनीतिक हिसाबले अवसान (अन्त्य)को योभन्दा प्रत्यक्ष र टड्कारो उदाहरण अरु के हुन सक्छ ? अस्तु ।