काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब दुई हजार तीन सय मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।
टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तीर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा सो सेवा सञ्चालनमा ल्याएकोे जनाएको छ । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र चार हजार दुई सय मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै, टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि फोजी नेटवर्क समेत विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालन आएपश्चात् दर्शनार्थी तथा पर्यटकलगायत सो क्षेत्रमा बसोबास गर्ने बासिन्दाले समेत सेवाबाट लाभान्वित हुने कम्पनीको भनाइ छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।