राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को नतिजा सार्वजनिक गरेको छ । विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलोको रूपमा लिइने यस परीक्षा उत्तीर्णपछि अध्ययन गरिने विषयले भविष्यको शैक्षिक एवं पेसागत यात्रा तय हुन्छ । त्यस कारण अध्ययनका विषय छनौट गर्दा गम्भीरतापूर्वक चिन्तन मनन गर्नुपर्ने हुन्छ । नतिजा प्रकाशन भएपछि उच्चशिक्षा अध्ययनका लागि कुन विषय, कहाँ, किन, कसरी, कहिले पढ्नेबारे विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वाभाविकै हो । अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘ओल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएको धेरै उदाहरण छन् । त्यस कारण कक्षा १२ पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमा नै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारपक्षले कञ्जुस्याइँ गर्नु हुँदैन । श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतीहरू थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनौट होस पुर्याएर गरिनुपर्छ । तसर्थ कुन विषय किन र कहाँ पढ्ने ? अभिभावक र अनुभविको सल्लाह र सुझाव मार्गदर्शन हुन सक्छ ।
कक्षा १२ उत्तीर्ण गर्नेबित्तिकै विदेश जाने लहर नै चलेको छ । भर्खर १७।१८ वर्ष उमेर पुगेका अल्लारे उमेरका नवयुवाहरू कतिपय त अरुको लहैलहैमा विदेश अध्ययनका लागि जाँदा हन्डर खेप्न परेका घटनाहरू पनि घटेका छन् । अर्कातर्फ स्वदेशका कलेजहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । पहिला छनौटका लागि कडा प्रतस्पिर्धा हुने सरकारी छात्रवृत्तिका कोटाहरूमा मागअनुसारका आवेदन समेत पर्न छाडेका छन् । यसरी विकराल बन्दै गएकौ प्रतिभा पलायन (ब्रेन ड्रेन) लाई बेलैमा नियन्त्रण गर्न नसके समृद्धिको सरकारी नारा कागजमै सीमित नहोला भन्न सकिन्न । विद्यार्थीको चाहनाअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकहरूको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नु पर्ला ? आदि प्रश्नहरूको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निष्कर्षमा पुग्न सरकार र सरोकार पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न चुक्नु हुँदैन ।
विद्यार्थी, विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यस कारण आफूले कक्षा १ देखि १२ सम्म पढेको अनुभवका आधारमा मात्र उच्चशिक्षाको लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्छ । तसर्थ पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शिता समेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्छ । भविष्यमा अपनाउने पेसा, त्यसको लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा यर्थाथपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनौटको निष्कर्षमा पुग्नु बुद्धिमानी कदम हो ।
अभिभावक, अभिभावकले विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरुलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबरजस्ती पढ्न लगाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्या समेतका अप्रिय घटना हुनेगरेको पाइन्छ । त्यस कारण छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनौट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिको आधारमा मात्रै विषय छनौट गर्न प्रोत्साहन गर्नुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम हुनेछन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धिको पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । त्यस्तै एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातल समेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनौट गरेका खण्डमा पछि पछुताउनु नपर्ला ।
शिक्षण संस्था र सरकार
गुणस्तरीय शिक्षा प्रदान गर्ने कानुनी एवं सामाजिक दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो साधन स्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शीरूपमा नढाँटी इमान्दारितापूर्वक जानकारी गराउनुपर्छ । किनकि मानवीय संशाधन विकास गर्ने अभिभारा लिएकाले यदि त्यसमा हेलचेक्य्राइँ भएमा व्यक्ति समाज र अन्तत्वगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यस कारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभको लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयम्को लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति नियमलाई इमान्दारितापूर्वक अनुशरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याती कमाउन सफल हुन्छ । सार्थक दूरदर्शी सोच राखेर मात्रै अनुशासित वातावरणमा शिक्षणसंस्था सञ्चालन गर्नुपर्छ । भनिन्छ, बाली लगाउन कम्तीमा छ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ । अरुको देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षणसंस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा दिगो र फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति नियम अपरिहार्य हुन्छ ।
गरिब जेहेन्दार विद्यार्थीहरूका लागि छात्रावृत्तिको व्यवस्था राज्य तथा शिक्षणसंस्थाले गर्नका साथै अन्य सरकारी, गैरसरकारी र राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न निकायहरूबाट प्रदान गरिने छात्रवृत्ति बारेको यथार्थ जानकारी सहजरूपमा सबैलाई उपलब्ध हुने व्यवस्था गरिनु न्यायोचित हुन्छ । शिक्षण संस्थाहरूको संख्यात्मक र गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने देखिन्छ । तोकिएका सेवासर्तअनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । शिक्षण संस्थालाई विद्यार्थीको उपलब्धिप्रति जवाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो रहनुपर्छ । अर्थात् विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर समयानुकूल शिक्षा नीति–नियमको निर्माण र प्रभावकारी कार्यान्वयन भएमा मात्र सक्षम नागरिक उत्पादन गर्न सकिन्छ भन्ने तर्फ सरकार र सरोकार पक्षको ध्यान जानु दूरदर्शिता ठहर्छ । (लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।)