धनगढी । कैदीको नाइके छनोटका विषयमा कुरा नमिल्दा कैलाली कारागामा झडप भएको जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालले नेतृत्व छनोटमा विवाद हुँदा दुई समूहबीच हातपात तथा झडप भएको जानकारी आए पनि थप विवरण अध्ययनपछि थाहा हुने बताए । उनले मृतक चौधरीका आफन्तसँग संवाद भइरहेको र घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
घाइतेमध्ये गोदावरी नगरपालिकाका आयुष भट्टलाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिँदै प्रजिअ हमालले भने, ‘भट्टको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ, घटनामा घाइते भएका अन्यको अवस्था सामान्य छ ।’
घटनालाई केन्द्र र प्रदेश सरकारले पनि गम्भीररूपमा लिएका छन् । शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिव, तीनवटै सुरक्षा निकायका प्रमुखसहित सम्बद्ध अधिकारीबाट घटनाको समग्र अवस्थाबारे जानकारी लिँदै आवश्यक काम गर्न निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नै गृहमन्त्री रमेश लेखकसँग भेट गरी घटनाबारे छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मानव अधिकार आयोगद्वारा कैलाली कारागार घटनाबारे अध्ययन
कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले शनिवार घटनाबारे अध्ययन गरेको हो ।
आयोग प्रदेश कार्यालयका प्रमुख भट्टले क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, भौतिक स्रोतसाधानको अभाव रहेको र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यसँग आवश्यक समन्वय नहुने गरेको पाइएको बताए । उनले भने, ’हामी अध्ययनकै क्रममा छौंँ, घटनाको कारणबारे अध्ययनपछि आयोगको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउने छौँ र त्यसपछि यसबारे विस्तृत जानकारी गराइने छ ।’
आयोगले गएराति कैदीबन्दीबीचको झडपपछि उत्पन्न परिस्थितिलाई थप बिग्रिन नदिन स्थानीय प्रशासनले थप चुस्त व्यवस्थापन गरिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएको भट्टले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति नियन्त्रणमा रहेको र त्यसका लागि सबै व्यवस्थापन गरिएको बताएका छन् । ‘उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौंँ । सुरक्षा व्यवस्था चुस्त बनाउन सम्पूर्णरूपमा रणनीति अपनाइएको छ । अब थप अप्रिय घटना हुन नदिन हामी सचेत छौँ’, उनले भने ।
घटनामा को–को भए घाइते ?
यसैबीच, जिल्ला प्रशासन कार्यालय कैलालीले घटनामा घाइते हुनेहरूको नामावली सार्वजनिक गरेको छ । घाइते हुनेमा कैलालीका जनक देउवा, रोशन शाही, जीवन खत्री, नविन नाथ, शरद चौधरी, नरेश राना, वसन्त खत्री, राम निवास राना, कर्ण सलामी मगर, अभिषेक चौधरी, धिरज बम र बाजुराका मेकेन्द्र गिरी रहेका छन् ।
त्यस्तै, भारत घर भएका रन्जित सिंह, कैलालीकै निरज जैशी, जगदीश राना, हिमाल राना, बल राना, हर्क गिरी, जनक भण्डारी, किशोर खडायत, अमित भुल, कल्पेश विष्ट, दीपक खत्री, दिनेश साउँद, रवि चौधरी, अक्ति बाँनिया रहेका छन् । त्यस्तै, सिद्धार्थ बडेला विवेक चौधरी, मनिष चौधरी, गौरव बम, विवश चौधरी, शिव थापामगर, अर्जुन खड्का, भारतीय नागरिक पुष्पेन्द्र रानार, नरेन्द्र घरेडी, देवेन्द्र सिंह, सन्जु दमाई, विरेन्द्र चौधरी, मानवीर चौधरी, मिलन चन्द, वीरबहादुर विष्ट, आयुश भट्ट, एकेन्द्र भाट, सुरेश राना, पंकज चौधरी, मिनबहादुर विष्ट र सुरेन्द्र बम रहेका छन् ।