काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले यही साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको हो । इन्स्योरेन्सले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पुँजीको ३४ दशमलव ७८ प्रतिशत हकप्रद सेयरमा अब भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले हाल कायम १० कित्ता सेयरबराबर नयाँ तीन दशमलव ४७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार सात सय ७६ रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार नौ सय ६७ दशमलव ७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो । सोअनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद सेयरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएस एन्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८९ करोड आठ लाख ७८ हजार दुई सय ३१ रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५४ करोड ८५ लाख ७५ हजार सात रुपैयाँ पुग्नेछ ।