काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले राजधानीमा ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव २०२५’ आयोजना गरेको छ ।
देशभरका विभिन्न जाति, लिङ्ग, भाषा, भौगोलिक क्षेत्र र पहिचानका डेढ सयभन्दा बढी युवाको सहभागितासहितको यो कार्यक्रम अन्तरक्रिया, कार्यशाला र सिर्जनात्मक प्रस्तुतिले भरिएको उत्सवका रूपमा मनाइएको हो । कार्यक्रममा मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिका बारेमा जानकारी दिएकी थिइन् । यस्तै, ‘सपना, संघर्ष र सफलता’ शीर्षकमा भएको प्यानल छलफलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, अभिनेता नाजिर हुसेन, मधेश प्रदेश सरकारका उपसचिव सुनिल कुमार पासमान र डिसएबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा युवाद्वारा तयार गरिएको ‘युथ डिक्लेरेसन’ प्रस्तुत र अनुमोदन गरिएको थियो ।
अलायन्सका अध्यक्ष प्रदीप परियारले ‘डाइभर्सिटी कार्निभल’लाई विविधता र समावेशिताको अभ्यासका रूपमा वर्णन गर्दै यसबाट सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य रहेको बताए । छलफल र कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायमा पेश गरिने जनाइएको छ ।