काठमाडौं , जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा भएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले निकट भविष्यमा पूर्ण पार्टी एकता गर्ने तयारीसहित कार्यगत एकता गर्न सहमति जनाएका हुन्।कार्यगत एकतापछि जारी विज्ञप्तिमा भनिएको छ कि देशलाई अग्रगामी निकास दिन पहिचानसहितको संघीयता र समाजवाद पक्षधर शक्तिहरूको एकताबद्ध पहल आवश्यक रहेको छ भन्ने बुझाइका आधारमा संविधानको अग्रगामी संशोधन, परिमार्जन र विकास गर्ने उद्देश्यले साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुख कार्यगत एकता गरिएको हो। विज्ञप्तिअनुसार दुई दलबीचको कार्यगत एकताको संरचना केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा हुनेछ। केन्द्रीय तहमा दुवै पार्टीबाट अध्यक्षसहित सात–सात जना सदस्य रहने केन्द्रीय संयोजन समिति रहनेछ। समितिमा कम्तीमा दुई जना महिला सदस्य हुनु पर्ने व्यवस्था गरिएको छ। आवश्यक परे सचिवालय बनाउने प्रावधान पनि राखिएको छ। प्रादेशिक तहमा प्रदेश संयोजन समितिमा प्रदेश अध्यक्षसहित प्रत्येक पार्टीबाट पाँच–पाँच जना सदस्य रहने व्यवस्था छ भने स्थानीय तहमा हालका लागि जिल्ला संयोजन समिति रहनेछ र यसमा जिल्ला अध्यक्षसहित तीन–तीन जना सदस्य रहने व्यवस्था गरिएको छ। पार्टीका जनवर्गीय र भातृ संगठनहरूबीच आवश्यकतानुसार संयुक्त संरचना निर्माण गर्न सकिने व्यवस्था गरिएको छ। कार्यगत एकतामा संलग्न पार्टीहरूले बैठकको अध्यक्षता आलोपालो गर्ने र सबै तहको संयोजन समितिको बैठक र कार्यसूची निर्धारण आपसी सहमतिको आधारमा गर्ने सहमति जनाएका छन्।यस कार्यगत एकताले आगामी राजनीतिक गतिविधिमा दुवै दलबीच निकट सहयोग र साझा रणनीतिका बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ।